दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ। नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको हो।
कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ। कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात माग गरेको छ। कृषि औजार खरिद प्रक्रियासँग सम्बन्धित स्पेसिफिकेसन लागत अनुमान, सिलबन्दी दरभाउ, कोटेसन दाखिला प्रतिवेदन र किसानहरुलाई वितरण गरेको भरपाईहरु पठाउन पनि अख्तियारले भनेको छ।
साथै ‘सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपिहरु स्पष्ट राय, प्रतिकृयासहित पत्र प्राप्त भएको मितिले १५ दिनभित्र कार्यालयमा आइपुग्ने गरी पठाउन’ अख्तियारले नगरपालिकासँग भनेको छ। यस्तै शैल्यशिखर नगरपालिका—९को गोकुलेश्वर माविको १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको अवश्यक कागजात उपलब्ध गराउन अख्तियारले नगरपालिकालाई पत्राचार गरेको छ।
भवनको गुरुयोजना, लागत अनुमान, कार्य सम्पन्न भएको नापी किताव, कार्य सम्पन्न प्रतिवेदन, निमार्ण सम्पन्न भएको भनि विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय, भौचर, बील भरपाइलगायत पनि दिन अख्तियारले भनेको हो । यस्तै शैल्यशिखर नगरपालिका ३ लटिनाथ आधारभुत दर्माको ३८ लाख २९ हजार रुपैया लागतको भवन निमार्ण कार्यक्रमको सम्झौता, लागत अनुमान, नापी किताबलगायत पनि पठाउन अख्तियारले पत्राचार गरेको छ। २०७९ बैशाख देखि ०७९ असार मसान्तसम्म नियुक्त गरिएका करार कर्मचारीहरु तथा ज्यालादारी, उनीहरुको नियुक्ती प्रक्रिया सम्बन्धी सम्पूर्ण कागजपत्र र सो अवधीमा कार्यालयको चियापानमा भएको खर्च विवरण पनि अख्तियारले माग गरेको जनाएको छ ।