दार्चुला । दार्चुलामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष र नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बीच विवाद हुँदा कुटाकुट भएको छ । बुधबार राति पौने ९ बजे तिर जिल्लाको महाकाली नगरपालिका ४ सुपथ मूल्य पसल अगाडि उनीहरूबीच कुटाकुट भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकी र कांग्रेसका पूर्व जिल्ला सचिव हर्क विष्टबीच कुटाकुट भएको हो । कुटपिटका क्रममा बुढाथोकीले विष्टमाथि ढुङ्गा प्रहार गरेको र उनको हात र खुट्टामा चोट लागेको बताइएको छ ।
बिना कारण आफूमाथि आक्रमण गरेको र आफू घाइते भएको विष्टले बताए । यस्तै उनले आज प्रहरीमा बुढाथोकीविरुद्ध उजुरी दिने पनि बताए । तर, उता बुढाथोकीले भने राति मदिरा सेवन गरेर अराजक गतिविधि गरिरहेको र होहल्ला गरेकोले सम्झाइ बुझाइ मात्र गरेको दाबी गरे ।
उनले ढुङ्गा प्रहार नगरेको भन्दै आफूमाथि हात हालेपछि सम्झाएर घर पठाएको जनाए। यस्तै जिल्ला प्रहरी कार्यालयले पनि घटनाबारे जानकारी आएको र दुवै पक्षलाई आज छलफलका लागि बोलाइएको जनाएको छ ।