काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई २०७९ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले यही चैत २४ देखि ३ महिनासम्म निःशुल्क सिम र ६ महिनासम्म बोनस अन रिचार्ज अफर सार्वजनिक गरेको हो ।
देशभरका कार्यालयबाट कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भरेर निःशुल्क रुपमा सिमकार्ड प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
अफरमा ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने बताएको छ । जसअन्तर्गत एक महिनासम्म ४० मिनेट अन नेट कल, ६० एमबी डाटा र ३० वटा अन नेट एसएमएस तथा टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन, १०० एमबी डाटा उपलब्ध हुनेछ ।
अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा रहेको जनाइएको छ ।