विद्रोह गर्दै शाहरुख खान
धनगढ़ी । १४ फेब्रुअरी २०१६ को बिहान अहमदावादस्थित हायात रिजेन्सी बाहिर दश जनाको समूह भेला भएको थियो। जय श्रीराम र शाहरूख खान हाय हायको नारा लगाएको त्यस समूहले एक्कासी होटलको पार्किङमा ढुंगामुढा सुरू गरे। शाहरूख खानको गाडीमा समेत तोडफोड गरेर उनीहरू भागे।
घटनालगत्तै होटलका सुरक्षागार्डले प्रहरी चौकीमा उजुरी दिए। उजुरी परेपछि घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्यो। त्यही दिन प्रहरीलाई सूचना पुगेको थियो- हायात रिजेन्सीको बाहिर शाहरूख खानको पुत्ला जलाउने तयारीमा भारतीय जनता पार्टी (भाजपा)का युवा कार्यकर्ताले योजना बनाइरहेछन्। सुरक्षा सतर्कता बढाएपछि प्रहरीले १७ जनालाई गिरफ्तार गरेको थियो। प्रहरी सतर्क रहँदारहँदै पनि हायात पुगेर १० जनाको समूहले ढुंगामुढा गर्दै शाहरूख खानको गाडीमा क्षति पुर्यायो।`
यो घटनाको तीन महिना पहिला आफ्नो ५०औँ जन्मदिनको अवसरमा शाहरूख खान इण्डिया टूडे टेलिभिजनमा पुगेका थिए। टेलिभिजनका पत्रकार राजदीप सरदेसाइले खानलाई सोधे- ‘के भारतमा असहिष्णुता बढिरहेको छ?’
खानले टेलिभिजनमा जवाफ दिएका थिए- ‘देशमा धेरै नै असहिष्णुता छ। मानिसहरू अब अफवाहमै रमाउन थालेका छन्। हामी एक धर्मनिरपेक्ष मुलुक हौं। पछिल्लो १० वर्षमा सबैभन्दा बढी उन्नति गर्ने राष्ट्रको सूचीमा हामी पर्छौं। हामी आधुनिक भारतको कुरा गर्छौं। हामी आधुनिक हुने हो भने असहिष्णुताको पक्षधर हुनुहुँदैन। एक देशभक्त नागरिक एक धर्मनिरपेक्ष नागरिक नहुनु सबैभन्दा संगीन अपराध हो।’
एनडी टिभीकी वर्षा दत्तसँगको कुराकानीमा खानले धर्मको मात्रै बहसले मुलुकलाई फेरि अन्धकारतर्फ धकेल्ने बताए। मुलुकमा बढ्दै गएको असहिष्णुताको विरोध गर्दै पुरस्कार फिर्ता गर्ने कलाकारको कदम निकै साहसीपूर्ण रहेको बताए। ‘देशलाई माया गर्नु भनेको समग्र कुरालाई माया गर्नु हो। एउटा विशेषलाई माया गर्दैमा कोही देशभक्त हुँदैन’, खानको भनाइ थियो।
शाहरूख खानले संविधानले दिएको सीमा र मर्यादाको पालना गर्दै आफ्नो भनाइ राखेका थिए। तर मोदी सरकारको असहिष्णु नीतिमा लिप्त कार्यकर्ताले खानको अभिव्यक्तिको विरोध गर्न थाले। भाजपाका नेता कैलाश विजयवर्गीले खानको भनाइको विरोध गर्दै ट्वीट गरे- ‘खान भारतमा बस्छन् तर उनको मन पाकिस्तानमा छ।’
योगी आदित्यनाथले खानलाई आतंकवादी संगठन लस्कर ए तोएबाका प्रमुख हाफिज सइदसँग तुलना गर्दै चेतावनी दिए— ‘समाजको ठूलो हिस्साले खानको चलचित्रलाई बहिष्कार गर्यो भने उनी सडकमा आउनसक्ने स्थिति हुन्छ। खानको भाषा र हाफिज सइदको भाषामा कुनै फरक छैन।’
टिभीमा दिएको अन्तर्वार्तापछि खानको विरोध हुन थाल्यो। रइस फिल्मको छायांकनका लागि गुजरात पुग्दा पनि उनी विरुद्ध प्रदर्शन भएको थियो। समाली नेता रघुविर सिंहले करोडौं समर्थक रहेका शाहरूखले मुलुकको प्रतिष्ठालाई आँच पुर्याउने अभिव्यक्ति दिएकाले विरोध गर्न बाध्य भएको बताए। ‘करोडौं समर्थक रहेका खानले असहिष्णुताबारे जथाभावी टिप्पणी गर्दा मुलुकको प्रतिष्ठामा आँच आउँछ। हामी विरोध मार्फत असहिष्णुता के हो भनेर देखाउन चाहन्छौं’, उनले भने।
रइस फिल्मको सुटिङ उच्च सुरक्षा घेराभित्र सम्पन्न भयो। तर विवाद समाधान हुने कुनै स्थिति देखापरेन। १८ सेप्टेम्बर २०१४ मा पकिस्तानको आतंकवादी संगठनले जम्मु–कश्मिरमा आक्रमण गर्दा १९ जना भारतीय सैनिकको मृत्यु भएको थियो। यो घटनालगत्तै महाराष्ट्रको हिन्दु उग्रवादी संस्था महाराष्ट्र नवनिर्माण सेनाले रइस प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गर्यो। पाकिस्तानकी अभिनेत्री माहिरा खानलाई समेत समावेश गरिएको विरोधमा संगठनले यस्तो निर्णय गरेको थियो। बलिउडमा काम गर्ने पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छोड्न चेतावनी दिएको थियो। यसको साथै भारतीय मोसन चलचित्र निर्माता संघले पाकिस्तानी कलाकारलाई कालोसूचीमा राख्यो।
रइसका निर्मातालाई माहिर खानको सट्टा अर्का कलाकारलाई लिएर छायांकन गर्न निकै महँगो पर्ने स्थिति थियो। त्यसैले उनले बाँकी दृश्य दुबईमा छायांकन गर्ने निर्णय लिए। २३ अक्टोबरमा मनसेका अध्यक्ष राज ठाकरेले र महाराष्ट्रका तत्कालीन मुख्यमन्त्री देवेन्द्र फडविसको बैठकले रइसको विरोध नगर्ने निर्णय लिए। डिसेम्बरमा शाहरूख खानले ठाकरेलाई भेट गर्दै रइसको प्रवर्धनमा माहिरा खानलाई सहभागी नगराउने बताए। फिल्म निर्माता अमेय खोपकरले भने- ‘राजासाहेबले स्पष्ट रूपमा पाकिस्तानी कलाकार राखेर छायांकन गर्न नदिने बताउनुभएको थियो। हामी त्यसमा अडिग थियौं’, उनले भने।
खोपर तिनै थिए जसले दिलवाले चलचित्र बहिष्कारको अभियान चलाएका थिए। त्यसबेला शाहरूख खानले चेन्नईमा बाढीपीडितहरूलाई १ करोड रूपैयाँ सहयोग गरेका थिए। खोपरले भनेका थिए- ‘महाराष्ट्रका पीडित किसानलाई खानले कहिल्यै सहयोग गरेनन्। वलिउडमा आएका पाकिस्तानी कलाकार भारतमा भएका हमलाको कहिल्यै विरोध गर्दैनन्। जुन दिन सीमामा आतंकवादी गतिविधि अन्त्य हुन्छ त्यो दिन हामी कलाकारहरूलाई रातो कार्पेट विछ्याएर स्वागत गर्नेछौं।
अचम्मको कुरा त के छ भने खोपरले रइस बाहेक शाहरूखका अन्य सबै चलचित्र भने हेरेका छन्। ‘तमाम विरोधका बीच मैले रइस बाहेक खानका सबै चलचित्र हेरेको छु। उनको जन्मदिनमा गुलदस्ता पनि पठाएको छु’, उनले भने।
रइस चलचित्रको विरोधले खानलाई बदलिएको चलचित्र उद्योग र मुलुकको स्थितिबारे बोध गरायो। सन् २०१० मा खानले आईपीएलमा पाकिस्तानी खेलाडीलाई सहभागी नगराउने कदमलाई अपमानजनक भनेका थिए। उनको यो अभिव्यक्तिपछि शिवसेनाले ‘माइ नेम इज खान’का पोस्टरहरू च्यातिदिए। त्यसबेला खानलाई माफी माग्नुपर्ने दबाव थियो। खान स्वयंले एउटा क्लबमा लगानी समेत गरेका थिए। खानले माफी भने मागेनन्। बर्खा दत्तसँगको शोमा उनलाई सोधिएको थियो- ‘खान साब पाकिस्तानी कलाकारलाई साथ दिएपछि विवाद हुनु स्वाभाविक होइन र ?
खानले जवाफ दिए- ‘यो विवाद दुई मुलुकका राजनीतिज्ञलाई छोड्नुपर्छ। दुई मुलुकबीच भइरहेको सांस्कृतिक आदानप्रदान कार्यक्रम किन बन्द भयो, अहिले अचानक यस्तो असहिष्णुता किन आयो ?’ खानले सोधे।
कुनै बेला धर्मनिरपेक्षता माथिको आक्रमणमा बोल्ने खान अहिले बोलेका छैनन्। यस विषयमा खोपरले भनेका छन्- समय सँगसँगै खान पनि बदलिएका छन्। अब उनले आफ्नो पेशासँग मात्रै मतलब राख्न खोजेका छन्। शिवसेनाका सांसद अरविन्द सावंत पनि खोपरको भनाइमा सहमति राख्छन्- ‘खानले राजनीतिमा होइन आफ्नो कर्ममा ध्यान दिनुपर्थ्यो। अहिले उनले आफ्नो बानी सुधार्नु राम्रो काम हो’, सावंतले भने।
‘आजको दिनमा सामूहिक कथानक चलचित्र निर्माणका लागि सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण छ। तर सामाजिक सञ्जालले नै चलचित्रलाई प्रभाव पार्ने कुराहरू आइरहेछन् यसमा मेरो विमति छ’ खानले भने, ‘सामाजिक सञ्जाल संकीर्णताले भरिएको छ त्यसैले समाजमा चलचित्रले दिनुपर्ने अझै धेरै कुरा छ।’
सन् २०२१ मा वाशिंटन पोस्टमा खानबारे आलेख छापिएको थियो। खानको बहुसांस्कृतिक चेतको प्रशंसा भएको थियो। ‘हिन्दु महिलासँग विवाह गरेका खान बहुलवादमा विश्वास गर्छन्। भारतका लागि बहुलवाद र अन्तरधार्मिक विवाहको प्रतीक झैं उनी थिए। तर अहिले उनी नीरस छन् । खानमा आएको बदलावले भारतमा ध्वस्त हुँदै गएको सहिष्णुता र बहुलवादलाई इंगित गर्छ।’
बलिउडका सुपरस्टारलाई अहिले मौनतामा धकेलिएको छ। राजनीतिक तरिकाले निशाना बनाइएको छ। यसकै कारण समकालीन सिने उद्योगभन्दा पर खान छन्। मोदीको चाकडीमा व्यस्त उद्योगभन्दा पर रहनु भनेको अराष्ट्रिय हुनु होइन। वा खान देशभक्तिपूर्ण सिनेमा गर्न रूचाउँदैनन्। यदि कसैले यो आरोप लगाउँछ भने खानको तीन दशकको यात्रामा बनेका चलचित्र हेर्दा हुन्छ।
हालै रिलिज भएको खानको चलचित्र पठान हेर्दा पनि उनले खुफिया एजेन्ट भएर मुलुकप्रतिको आफ्नो धर्म निर्वाह गरिरहेको देखाइएको छ। यसका बाबजुद सामाजिक सञ्जालमा उनको चलचित्र बहिष्कार गर्नुपर्ने आवाज चर्कियो। यो क्रममा सात वर्षअघि उनले असहिष्णुताबारे दिएको टिप्पणीलाई भाइरल बनाइयो। १४ डिसेम्बरमा मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले खानले गेरू र दीपिका पादुकोणले हरियो रंगको कपडा लगाएर प्रमित गीत बनाएको भन्दै चलचित्र चल्न नदिने बताए।
पत्रकार आलिशान जाफरीका अनुसार भारतमा मुसलमान विरुद्धका अभियान साधारण भइसकेको छ। ‘मुस्लिम विरुद्धको अभियान भारतमा सामान्य भएको छ। मुस्लिम उद्योगलाई विशेषगरी भाजपा र आरएसएसले प्रताडित बनाइरहेका छन्। राजनीतिक लाभका लागि उनीहरू असहिष्णु बनिरहेका छन्’, उनले भने।
यद्यपि पठान फिल्म हिन्दु तथा मुस्लिम दुवै धर्मका कट्टरपन्थी समूहको निशानामा पर्यो। चलचित्रमा महिलाको अश्लील नृत्य रहेकाले प्रदर्शन गर्न नदिने चेतावनीमध्ये प्रदेशको मौलाना समितिले पनि गरेको थियो। चलचित्र उद्योग मात्रै होइन अन्य क्षेत्र पनि यस्तो बनिसकेको छ कि जहाँ मुस्लिम कलाकारले आफ्नो धर्मलाई गुमराहमा राख्नुपर्ने स्थिति छ। भारतमा यस्तो स्थिति आइसकेको छ कि मुस्लिम हरबखत संकटमा छ। तर खानले हालसम्म आफ्नो धार्मिक पहिचानलाई लुकाएका छैनन्। उनी कुनै मामिलामा कट्टरपन्थी नभएर हो सबै धार्मिक आस्थाका दर्शक उनका समर्थक छन्। समाजको जुनै दायरामा उनका प्रशंसक निस्कन्छन्। के लेखौं भनेर सोधेको थिएँ। ‘इसाई लेख। तिमीलाई कुनै समस्या हुनेछैन’, खानले जवाफ दिएका थिए।
शाहरूख सबै धर्मलाई अंगीकार र सम्मान गर्न सक्ने मुस्लिम रहेको पत्रकार जाफरी बनाउँछन्। ‘हामीले शाहरूख पनि एक कट्टरपन्थी मुस्लिम हुन् भन्ठान्यौं भने त्यो गलत हुनेछ। उनी सबै धर्मलाई सम्मान र इज्जत गर्ने मुस्लिम हुन्। सबै मुसलमान यस्तै हुनुपर्छ भन्ने सन्देश उनले दिइरहेका छन्। तर खानको यो सन्देश आरएसएस र बीजेपीलाई हजम भइरहेको छैन। उनीहरूले मुस्लिमहरूको समूहमा विभाजन ल्याउने मुसलमान नै मनपराउँछन्।
नरोत्तम मिश्राले पठानबारे अभिव्यक्ति दिएको एक दिनपछि खानले कलकत्ताको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो अभिव्यक्ति राखेका थिए। उनले आफ्नो पठान चलचित्रबारे आएका टीकाटिप्पणीबारे केही बोलेनन्। तर सामाजिक सञ्जालबारे आफ्नो धारणा राखे। ‘आजको दिनमा सामूहिक कथानक चलचित्र निर्माणका लागि सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण छ। तर सामाजिक सञ्जालले नै चलचित्रलाई प्रभाव पार्ने कुराहरू आइरहेछन् यसमा मेरो विमति छ’ खानले भने, ‘सामाजिक सञ्जाल संकीर्णताले भरिएको छ त्यसैले समाजमा चलचित्रले दिनुपर्ने अझै धेरै कुरा छ।’
नकारात्मकताले सामाजिक सञ्जालको उपयोग बढ्ने भएकाले त्यस्ता गतविधि बढिरहेको खानको भनाइ थियो। सामूहिकतामा सामाजिक सञ्जालले विभाजन ल्याउन सक्ने भएकाले सजग हुनुपर्ने खानको सुझाव थियो। ‘चलचित्रले मान्छेको भावनालाई उजागर गर्छ, मानव सभ्यताको महत्वपूर्ण पाटो करूणा र भाइचारालाई जगाउँछ, त्यसैले चलचित्रले दिनुपर्ने कुरा अझै धेरै छ।’
खानको अभिव्यक्ति सकिएपछि दर्शकहरूले चलचित्रको केही अंश सुनाउन खानलाई अनुरोध गरे। उनले पठानका केही अंश दर्शकहरूमाझ बताए। महामारीपछि कलकत्ता आउन पाउँदा निकै खुशी लागेको बताए। अन्तिममा खानले भने- ‘हामी सबै खुशी छौं र म ज्यादा नै खुशी छु। दुनियाँले जेसुकै भनोस् तर मलाई यो भन्न आपत्ति छैन कि तपाईं, म र हामी झैं जति पनि सकारात्मक मानिस छौं हामी अझै जीवित छौं। हामी जीवित हुनुले केही न केही फरक अवश्य पार्नेछ।’
लामो समय मौन विद्रोहमा रहेका खानले एकपटक फेरि सशक्त अभिव्यक्ति दिए।
– क्याराभान म्यागजिनबाट