बाजुराका बालबालिकामा दादुराको लक्षण

बाजुरा । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताइन। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको छ । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ ।
अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन् । बुढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहका अनुसार बालबालिकामा दादुरा तथा रुबेला रोगको संकेत देखिएको खबर आएको छ भन्नुभयो । दादुरा तथा रुबेलाको नमूना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी लिएर अम्कोटमा जान लागेको उनले बताए। बिहीबार स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमूना पठाउने शाहको भनाइ छ ।
उनका अनुसार अहिले नै दादुरा तथा रुबेला भन्न नसकिने भएकाले जाँचका लागि नमूनाको रिपोर्ट धनगढी प्रयोगशालाबाट आएपछि मात्र कुन रोग हो भन्ने थाहा हुने शाहले बताए। उक्त रोग थप सर्न नदिनका लागि समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताए ।