राष्ट्रपति पदका लागि उम्मेदवार तय गर्न छलफल तीव्र

काठमाडौँ । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको बताए ।
उनले उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा छलफल भए पनि निष्कर्ष आइनसकेको बताए ।
एमाले नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भएको बताए । माओवादी केन्द्रलाई राष्ट्रपति निर्वाचनमा सहयोग मागेको कांग्रेसले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतासँग छलफल गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापासहित केन्द्रीय नेताहरू सहभागी थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल र नेता घनश्याम भुसाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा सहभागी थिए।
यसैबीच एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनको सन्दर्भमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग संवादमार्फत अघि बढ्ने निर्णय गरेको हो । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।