हो, त्यही युग ! (कविता )

सिर्जना मञ्जरी
मोहन्याल–२, नावली, कैलाली
एउटा यस्तो युग
प्राचीन किंवदन्ती झैं
जहाँ, मानिस कन्दमुल खाएर बाँच्थे
आँटो र सिस्नु खाएर बाँच्थे
हो, त्यही युगमा अहिले म छु
आफू बाँच्न वा सुन्दर भविष्य बनाउन
थाहा छैन
मेरो कल्पनामा नपरेको संसार
यहीँ कतै रहेछ
जिउ नछोप्ने मैला कपडा र नाङ्गा गोडाले
ती कलिला मुना
काखमा पुस्तक च्याप्दै
घण्टौं हिँडेर विद्यालय पुग्छन्
कामको बोझले गर्न नभ्याएका
गृहकार्य थाती नै हुन्छन्
आफू सङ्गै बढ्न नसकेका
एक हुल भाइबहिनीहरू कक्षामै पुग्छन्
२१ औँ शताब्दीको युगमा पनि
अन्धकारमय रात्रिहरू अन्धकार नै छन्
महिनावारीका लागि बनाइएका छाउ गोठहरू
अझै बलिया भएर ठडिएका छन्
सञ्चारको दुरीले
मनभित्रका कुरा मनभित्रै खुम्चिएका छन्
त्यही भौगोलिक विकटता, असुविधा र असहजतासँगै
रमाएका मनहरू
केवल एक दिनका निम्ति जिउँछन्
हो, त्यही युगभित्र
हामीले नभेटेको शान्ति छ
हामीले नदेखेको भविष्य छ
हो, त्यही युग