डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस काठमाडौंमा

काठमाडौं, ८ बैशाख/स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी बिहीबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । महानिर्देशक ट्रेडोसको टोलीमा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डाक्टर पुनम खेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डाक्टर शम्भु आचार्य पनि सहभागी छन ।
नेपालमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटघाट गर्नेछन ।
विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोसको यो पहिलो नेपाल भ्रमण हो । यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बूढानीलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए ।