धनगढी २१ मंसिर ।आकर्षक शारीरिक जिउडाल र लोभलाग्दो अभिनयका कारण धिरेन शाक्यले चलचित्र उद्योगमा २ दशकजति राज गरे । त्यतिबेला राजेश हमाल, धिरेन शाक्य, भुवन केसी, शिव श्रेष्ठ लगायतका कलाकारको राम्रो ‘क्रेज’ थियो ।
यी अभिनेताका चलचित्र भनेपछि सिंगल थियटर दर्शकले खचाखच भरिन्थे । यी अभिनेताहरूका पोस्टर दशैं तिहारमा शुभकामना स्वरूप निकै बाँडिन्थे ।
नयाँ तथा पुराना निर्माता पनि राजेश र धिरेनलाई आफ्ना चलचित्रमा ‘साइन’ गराउन धेरैबेर सोच्दैन्थे । तर समय सधै उस्तै नहुँदो रहेछ ।
धिरेनका अन्य साथीहरू धमाधम चलचित्रमा काम गर्दै गए । राजेशले चलचित्र उद्योगमा एकछत्र कब्जा गरे । उनीसँगैका प्रतिस्पर्धी धिरेन भने सुटुक्क चलचित्र उद्योगबाट हराए । किन ?
हालै भएको एक भेटमा धिरेनले दिल खोलेर कुरा गरे । उनले भने, ‘म त्यतिबेला चलचित्र इक्युपमेन्ट कम्पनी खोल्न व्यस्त भएँ । केही वर्ष काम गर्न पाइएन । त्यसपछि दर्शकले भुले । अनि अरु कलाकारले चान्स पाए ।’
... ...
धिरेन चलचित्र उद्योग छाडेर अन्य व्यवसायमा सक्रिय भएका भने होइनन् । उनी चलचित्र उद्योगमै सक्रिय थिए । अफर आएका चलचित्रमा काम गरिरहेका छन् । दर्शकले उनलाई फ्याट्टफुट्ट ठूला पर्दामा भेटाइरहेका छन् । तर धिरेनको ‘क्रेज’ पहिले जस्तो छैन । यो तथ्यलाई उनले आफैं पनि स्वीकारेका छन् ।
धिरेन भन्छन्, ‘काम गर्न छाडेको होइन । तर पहिला जस्तो काम नपाएको त साँचो हो । अहिले नयाँ कलाकारहरूले काम गरिरहनुभएको छ, खुशीको कुरा हो ।’ दर्शकको माग र समयका कारण पछिल्लो समय युवा कलाकारको जमात रहेको बताउँछन् उनी ।
‘समय अनुसार हरेक कुरा परिवर्तन हुन्छ, कलाकारको क्रेज पनि समय अनुसार घटबढ हुँदै जान्छ,’ कफीको चुस्कीसँगै गफिँदै धिरेनले भने, ‘मलाई चेलाहरूको चुनौती त छैन । तर उनीहरू अहिले चलचित्रमा राम्रै काम पाइरहेका छन् । भोलि अर्को आउँछ । यो कुनै ठूलो विषय होइन, अचम्मको कुरा पनि होइन ।’
... ...
चलचित्र क्षेत्रमा सधै नै एउटै कलाकारको दबदबा रहँदैन । अहिले धिरेनलाई लिएर निर्माताले चलचित्र बनाउने रुची देखाएका छैनन् । तर उनी कहिलेकाहीँ चरित्र अभिनेताको रूपमा भने काम गरिरहेका छन् । सोलो हिरोको रूपमा दर्शकसम्म पुग्न सकेका छैनन् ।
उमेरले पनि ‘लीड हिरो’ बन्न नसुहाएको हो कि ? धिरेनले हाँस्दै भने, ‘अमिताभ बच्चन मभन्दा पक्का जेठो हुनुहुन्छ होला तर उहाँले त लीड रोलमा काम गरिरहनुभएको छ त ! अनि कहाँबाट उमेरको कुरा आयो ?’
अमिताभको उदाहरण दिँदै धिरेनले लीड रोलमा कुनै अफर आयो भने काम गर्न तयार भएको संकेत दिए । उनले थपे, ‘कतिपय प्रोजेक्टमा कुरा भइरहेको छ । छिट्टै दर्शकले सोलो भूमिकामा मलाई देख्नुभयो भने अचम्म नमाने हुन्छ ।’
... ...
एउटा छोटो चलचित्र निर्माण हुँदैछ भन्नेबारे उनले हल्ला सुने । खबर रहेछ, साथीभाइहरूले निर्माण गर्न लागेको छोटो चलचित्रको । त्यसमा उनले सहजै काम गर्ने अवसर पाए । भिडियोको नाम थियो – ‘प्रतिक’ । यो चलचित्रमा काम गरेपछि उनी काठमाडौं हुँइकिए रात्रिबस चढेर । काम के थियो ? उनले भुले । तर त्यो बेला उनी काठमाडौं आउने जाने गरिरहन्थे । त्यो समय पनि उनी केही काम विशेषले काठमाडौं आएका थिए ।
बिस्तारै उनले काठमाडौं बस्नुपर्छ भन्ने योजना बनाए । काठमाडौंको ठमेलमा एउटा कोठा भाडामा लिए । बागबजारमा जगतनाथ तिमिल्सीनासँग नृत्य सिक्न थाले । त्यसैबेला उनलाई चलचित्र ‘विवश’बाट काम गर्ने ‘अफर’ आयो । चलचित्रका निर्देशक थिए, फुर्वा छिरिङ गुरुङ । उनकै निर्देशनमा धिरेनले ८ महिना तालिम लिए नृत्य र अभिनयको ।
अभिनय र नृत्य सिक्न उनी बागबजार ठमेल गरिरहन्थे तर एकाएक डेब्यु चलचित्रबाट उनी सुटुक्क निकालिए । धिरेन अक्क न वक्क भए । ‘महिनौंसम्म काठमाडौंमा चनाको भरमा तालिम गरेको खेर गयो,’ धिरेन विगत सम्झन्छन्, ‘कसैले चाहिने/नचाहिने कुरा गरेकाले मलाई निकालिएको रहेछ । म किन निकालियो भन्दै उनीहरूको पछाडि धाएन । तर बिस्तारै त्यो यथार्थ सुनें ।’ त्यो कुराले उनको मन दुख्यो । धेरै रात निदाएनन् ।
कुरा २०४९ सालतिरको हो । उनलाई चेतन कार्कीले निर्माण गर्न लागेको चलचित्र ‘पहिलो प्रेम’बाट अफर आयो । त्यतिबेला उनी हाल स्वर्गीय भइसकेका वसन्तजंग रायमाझीसँग नृत्य सिक्दै थिए । वसन्तले ‘एउटा चलचित्रमा भर्खरको युवा खोजिरहेको रहेछ, मैले तिम्रो नाम दिएको छु, भेट्न जानु है’ भनेपछि उनी खुशी भए । वसन्तले नम्बर दिए ।
निर्देशक चेतनलाई भेट्न उनी ललितपुरको झम्सिखेल पुगे उनकै घरमा । आधा घण्टा धिरेनसँग अभिनय टेस्ट भयो । त्यसपछि चेतनले १५ हजार रुपैयाँ दिए, यो तिम्रो पारिश्रमिक भन्दै । ५ दिनपछि धिरेनसहित टीमलाई बोकेर चेतन पोखरा हिँडे । २ महिना पोखरामा चलचित्र छायांकन भएर सकियो । चलचित्र हलमा फिल्म लाग्यो, नेपालभरका हलमा दर्शकको मेला लाग्यो ।
चलचित्र निकै राम्रो चल्यो । दर्शकले रुचाए । त्यसपछि उनले चलचित्र भिष्म प्रतिज्ञा, सिमाना, अर्जुन, जुनतारा, भाग्यले जुरायो, कर्जा लगायतका काम गरे । कुनै बेला ‘डेब्यु’ बन्न लागेको चलचित्रबाट सुटुक्क निकालिएका धिरेन एकाएक ‘हिट’ अभिनेता बने । धिरेन त्यसपछिका दिनमा कतिसम्म व्यस्त भए भने लगातार ३५ घण्टासम्म काम गरे । उनी भन्छन्, ‘दिनभरि काठमाडौंको गोदावरीमा काम गर्थें । त्यसपछि भक्तपुरमा भइरहेको अर्को चलचित्रको छायांकनका लागि पुग्थें । त्यसबेला कतिसम्म दुःख गरें, त्यो मलाई मात्रै थाहा छ ।’
... ...
चलचित्र चलाउनका लागि चलचित्रकर्मीले बेला–मौकामा विभिन्न फण्डा रच्छन् । तर धिरेनले एउटा चलचित्रमा गरेको फण्डा भने जिन्दगीभरका लागि घातक सावित भइदियो ।
उनको अभिनय रहेको चलचित्र प्रदर्शनको संघारमा थियो । त्यसैबेला एक मिडियाले राजेश हमालबारे केही प्रश्न गर्यो । धिरेनले फ्याट्ट जवाफ दिए, ‘को राजेश ? मैले चिन्दिनँ’ ।’ अर्को दिन त्यो मिडियासँगै दर्जनौं मिडियामा धिरेनले ‘राजेशलाई चिन्दिनँ’ भन्यो भन्दै समाचार छापियो । हमालका फ्यानहरू आक्रोशित भए । सोही कारण धिरेन बिस्तारै चलचित्र उद्योगबाट हराएको बजारमा चर्चा छ । चलचित्र चलाउने फण्डा हल्का बिग्रिएको तर राजेशकै कारण आफूले चलचित्र नपाएको भने नभएको धिरेन बताउँछन् ।
धिरेन भन्छन्, ‘चलचित्र प्रचारका लागि गरिएको फण्डामा मेरो अभिव्यक्तिलाई आधिकारिक मानियो । त्यसले मेरो जीवनमा ठुलो असर पार्यो । तर पटक–पटक सँगै चलचित्रमा काम गरेको सहकर्मीलाई नचिन्ने भन्ने कुरा हुन्छ ?’
द्वन्द्वकाल शुरू भएपछि धेरै चलचित्र हल बन्द भए । चलचित्र निर्माणको क्रम पनि बिस्तारै सेलायो । त्यसैबेला उनले आफ्नो जेठी छोरीको नामबाट ‘जस्मिन फिल्मस्’ कम्पनी खोले । धिरेन भन्छन्, ‘त्यसबेला कहिले जापान, कहिले कहाँ गइराख्नुपथ्र्यौ । राम्रो आम्दानी भइराखेको थियो । आफ्नो कम्पनीको काममा व्यस्त हुन थालेपछि चलचित्र अभिनयबाट टाढा हुन पुगेको हुँ । वास्तवमा म चलचित्र अभिनयबाट टाढा हुनुमा मेरो कम्पनीको काम नै हो ।’
... ..
केही वर्षयता धिरेनलाई दर्शकले म्युजिक भिडियोमा देखिरहेका छन् । म्युजिक भिडियोबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । तर कतिपयले भने चलचित्र नपाएका कारण म्युजिक भिडियोमा ‘डाउन’ भयो भन्दै गसिप बनाइरहेका छन् । तर धिरेनले यस्ता गसिपका पछाडि लागेर भुल्नु आफैंका लागि बेफाइदा हुने बताउँछन् । उनी भन्छन्, ‘एउटा कलाकारले हरेक किसिमका अभिनय गर्नुपर्छ । म्युजिक भिडियो पनि अभिनयको एउटा विधा हो । मलाई यो आरोपले खासै फरक पार्दैन ।’
उनले दर्जनौं लोक तथा आधुनिक गीतमा काम गरिसकेका छन् । उनको लाइनअपमा केही म्युजिक भिडियो पनि छन् । तर कोरोना महामारीका कारण उनले काम गर्न पाइरहेका छैनन् ।
... ...
धिरेन आजभोलि कोरोनाका कारण कसरी आगामी पाइला चाल्ने भन्ने विषयमा दोधारमा छन् । सम्हालिन्छ कहिले मन, गाइड, सनाखत लगायतका चलचित्रबाट धिरेन पुनः आफूलाई अभिनयमा स्थापित गर्ने योजनामा थिए । एक्कासि नेपालमा कोभिड–१९ ले महामारीको रूप लियो । उनी भन्छन्, ‘अहिले खासै कुनै योजना छैन । पहिले जस्तो योजना बनाएर काम गर्ने अवस्था अझै बनेको छैन । सोही कारण केही समय पर्ख र हेरको अवस्थामा छु ।’
उनी छिट्टै चलचित्र चोर पुलिस र राजेन्द्र खड्कीको एक वेव सिरिजमा काम गर्ने तयारीमा छन् । तर कोरोनाले यी प्रोजेक्टका काम पनि रोकेको छ ।
... ...
धिरेनले पछिल्लो समय चलचित्र उद्योगमा काम गरेका कलाकारको व्यवहारले आफूलाई चिन्तित गराएको बताउँछन् । ‘हामी आफूभन्दा माथिका सबैलाई सम्मान गर्थ्यौं । तर अहिलेका पुस्तामा त्यस्तो देखेको छैन,’ उनी भन्छन्, ‘सम्मान गरेजस्तो नमस्कार भन्ने तर मनैदेखि सम्मानको व्यवहार नदेखाएको मैले अनुभव गरेको छु । गाइडलाइनको अभावले पनि पछिल्लो पुस्तामा सिनियर कलाकारप्रति गर्ने सम्मानको व्यवहार हराएको मैले बुझेको छु ।’ पछिल्लो पुस्ताले आफूलाई चलचित्र उद्योगमा टिकाइराख्ने हो भने सम्मान गर्ने बानीको विकास गर्नुपर्ने प्रतिक्रिया दिन्छन् । ‘पहिलेका कलाकार सधै टिकिरहेका छन्, पछिल्लो समय आएका कलाकार एकछिन चम्कने र केही वर्षमा हराउने किन भएको बुझ्नुभएको छ ?’ उनले प्रश्न गर्दै भने, ‘मुख्य कारण नै यही हो ।’
उनले भने, ‘मैले त्यसबेला काम गर्दा शिव श्रेष्ठ, भुवन केसी, भुवन चन्द, वसुन्धरा भुसाल, गौरी मल्ल, सुनील थापा, टीका पहाडी, निर शाह, राजेश हमाल लगायतसँग कसरी बोल्थें मलाई राम्रोसँग थाहा छ । बोल्दा सोचेर बोल्थ्यौं । सिनियरसँग बोल्दा डराउँथ्यौं । तर अहिले के भएको हो यो पुस्ता ?’
... ...
व्यावसायिक बन्दै गएको चलचित्र उद्योगले अलिकति ताल बिगारेको धिरेनको अनुभव छ । पहिलेजस्तो समाजका यथार्थ घटनालाई टपक्क टिपेर चलचित्र बनाउने चलन हराएको उनको बुझाइ छ । तर प्राविधिक रूपमा भने चलचित्र उद्योगले निकै फड्को मारेकोमा उनी खुशी व्यक्त गर्छन् । ‘पहिलेका चलचित्रका गीत अहिले पनि हिट छन्, अहिलेका चलचित्रका गीत केही वर्ष पनि टिक्दैनन्,’ उनी थप्छन्, चलचित्रको कथा र गीत निर्माणमा खासै ध्यान नपुर्याउँदा यसो भएको हुनसक्छ ।’
... ...
राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसीमध्ये महानायक को हो भन्ने विषयमा मिडिया र चलचित्र उद्योगमा निकै बहस सिर्जना भयो । पछि बिस्तारै राजेश हमालले महानायकको उपनाम पाउँदै गए । यो लगभग स्थापित भयो । केही समयअघि दिपाश्री निरौलाले महानायक स्वीकार नगर्दा कतिसम्मको गाली र व्यवहार सहनुपर्यो, त्यो प्रस्टै देखियो ।
यस विषयमा धिरेनको धारणा के छ ? धेरैले कुरिरहेको प्रश्नको जवाफ हो यो । धिरेनले भने, ‘दर्शकले जे कुरा स्वीकारेका छन्, त्यो हामीले पनि स्वीकार गर्नुपर्छ । महानायकको रूपमा राजेशले उपनाम पाएको छ, ठीकै छ । यसमा मेरो भन्नु केही छैन ।’ धिरेनले राजेश, भुवन, शिव, नीर लगायतका अग्रज सबै कलाकारलाई सम्मान गर्ने प्रतिक्रिया दिए ।
... ...
धिरेन काठमाडौं आउँदा केही खजुरा पैसा बोकेर काठमाडौं आएका थिए । तर अहिले उनी काठमाडौंमा स्थापित भइसकेका छन् । जावलाखेल नजिकै उनको घर छ । पत्नी र २ छोरीहरू अहिले काठमाडौंमा बस्दै आएका छन् । राम्रो आम्दानी गर्न सफल धिरेन विगत सम्झँदै भन्छन्, ‘चलचित्र उद्योगबाट जे पाएको छु त्यसमा मेरो कहिल्यै गुनासो छैन । म आफ्नो जीवनसँग असाध्यै खुशी छु ।’