धनगढी २१ मंसिर ।धनगढी उपमहानगरपालिका-८ बुद्धचोककी गृहणी लक्ष्मी खतिवडा बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झन्छिन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्य देख्दा आनन्द लाग्ने उनी बताउँछिन् ।
बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुन लगायतका थाँक्रामा झुलिरहेका घिरौंला, सिमी देख्दा परिश्रम अझै गर्न मनलाग्छ र मेहनेतले नै खुशी दिने रहेछ भन्ने लाग्छ उनी भन्छिन् ।
लक्ष्मी भन्छिन्, ‘बन्दाबन्दीको दिनचर्या कौसी खेतीमा विताएँ, धेरै कुरा सिक्ने अवसर पनि मिल्यो, अहिले आफ्नै छतमा टन्न तरकारी फलेको छ । गरेपछि त सबै हुने रहेछ ।’ लकडाउनमा बाहिर निस्कन नमिल्ने, घरभित्रै बसिराख्न मनले नमान्ने भएपछि घरमा जोडिएको नेटको सदुपयोग गर्दै आफ्नै घरको छतमा तरकारी लगाउन आकर्षित भएको उनि बताउछिन ।‘अहिले घरकै पुराना बाल्टि, ड्रम, गमलादेखि प्लाष्टिकका अन्य सामग्री किनेर १० थरी तरकारी लगाएकी छु’, लक्ष्मीले भनिन् ।
लक्ष्मीको कौसी र छतमा लसुन, प्याज, धनिंया, बन्दा, टमाटर,मुलाविभिन्न थरिका साग, घिरौंला, लौका, काँक्रो, सिमी, कागती, भ्यान्टा लगायतका तरकारी छन् । लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ । तरकारीसँगै प्याजको बिरुवा , विभिन्न फूलको बिरुवा पनि हुर्काइरहेकी छन् । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोष्ट मल बनाएकी छन् ।
छोरा बुहारी जागिरमा जाने भएकाले नाति नातिनाको जिम्मेवारी बोकेकि लक्ष्मी खतिवडाले पनि आफ्नो व्यस्तता छिचोलेर कौसी खेती गर्दै आएकी छन् ।कृषिकर्मसँग रमाउन मन पराउने उनी शहरबजारमा पर्याप्त जग्गाको अभाव भएपनि कौसीको गमलामा तरकारी लगाएर रहर पूरा गरेको बताउँछिन् ।
बुद्धचोक स्थित उनको घरमा अहिले लौका, सिमि,बन्दा ,बोडी, काँक्रा लहलह भएका छन् । बाह्रमासे लसुन धनिँया, पुदिना भने टुट्दैन । समयको व्यवस्थापनका विषयमा खतिवडा भन्छिन्, ‘कौसीमा विहान आधादेखी एक घण्टा समय दियो भने हराभरा हुन्छ, घरैमा फलेको आर्गनिक तरकारी टिपेर भान्सामा लान पाउनुको मज्जा पनि बेग्लै हुन्छ ।’
उनले १० ओटा माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाडाको रुपमा प्रयोग गर्दै आएकी छन् । भैंसी, कुखुराको मल र पीनाको प्रयोगसँगै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसी खेतीमा प्रयोग गरिएको छ
कौसी खेतीको बारेमा टोलबासीलाई सचेतना दिंदै आएकि फूलवारीकी रेजिना कटुवाल पनि अहिले छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीको महत्व बढ्दै गएको बताउँछिन् । ‘सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा आर्गनिक तरकारी फलाउन सकिन्छ, यसले घरको शोभा पनि बढाउँछ’,कौसी खेतीका लागि मौसम अनुसारको विरुवा छनोट गर्नुपर्ने र हाइब्रिड जातका तरकारी उपयुक्त हुने उनको भनाइ छ ।
धनगढीमा पानीको समस्या नभए पनि शित लहरको समस्या हुने भएकाले कौसीमा लगाएको तरकारी बाली एकैछिनमा नष्ट हुनेतर्फ सतर्क हुनुपर्ने र पूर्व तयारीका साथ कौसीमा तरकारी लगाउनु पर्ने कटुवालले बताईन ।
त्यस्तै पहलवानपुर घुम्नी भाकलकि विद्यार्थी दिपिका आचार्यले पनि आफ्नो फुर्सदिलो समय तरकारी खेतीमा बिताइन । दिपिका आचार्यले लकडाउनमा घरको कौसीलाई खेतबारीझैँ उर्वर बनाइन् । घोडाघोडी नगरपालिका १० पहलवानपुर स्थित उनको आफ्नो घरको छतमा फलेको आलु खन्ने वेला भएको छ । फर्सी, स्कुस, अकबरे खुर्सानीदेखि चाइनिज र लट्टे सागसम्म छतमै फलेका छन् । पुदिना मिन्ट र चुकन्दर मामाघरबाट बिउ ल्याएर रोपेकी छन् । छिमेकीहरू साँझ–बिहान तरकारी किन्न बजार धाउँछन्, उनी भने छततिर उक्लिन्छिन् । घरको छत नै तरकारी फलाउने बारी बनेको छ, उनका लागि । भन्छिन्, ‘मेरो भान्सामा बजारको तरकारी बिरलै भित्रिन्छ ।’
बजारमा विषादीरहित तरकारी पाउन गाह्रो छ । उपभोक्ताका लागि बजारको तरकारी पैसा खर्च गरेर विषादी खरिद गरेझैँ भएको छ । त्यसैले हो, सहरी इलाकामा कौसी खेतीको अवधारणा भित्रिएको पनि । कोभिड–१९ महामारीमा त कौसी खेती संक्रमणको जोखिमबाट बच्ने उपाय पनि बनेको छ । कंक्रिटको जंगलमा हरियाली मासिएको छ । आफ्नै छतको हरियालीमा रमाउने अवसर दिएको छ, कौसी खेतीले । ‘खाली ठाउँमा तरकारी लगाउँदा घरको माहोल आनन्ददायी बनेको छ,’ आचार्य भन्छिन्, ‘मायाले संसार चल्दैन, आफ्नो लागि आफै ब्यबस्था गर्न सक्नु पर्छ फुर्सदको समय थियो तरकारी खेतीमा आकर्षित भए ।’