लघुकथा ः बेहुली


सन्तोष रोकाया मष्ट्रा गा.पा २ बझाङ हाल ः धनगढी,कैलाली हिजो गाउँघरमा तुरुकफुरुक गर्ने रञ्जु दिदि आज निराश बनेकी छे । हिजो अरुलाई रुनु हुन्न भनेर शान्त्वना दिन खोज्ने रञ्जु दिदि आज आफै झन्कार गर्दैछे । जिवन चक्र रहेछ । सबैलाई त्यो चक्रमा बाँधिनु पर्ने बाध्यता हुँदो रहेछ । त्यस्तै एक बाध्यता भनौं वा खेल रञ्जु दिदिमा आईपर्छ । रञ्जु दिदिले पनि त कहाँ सोचिकी हुँदी होलिन् र ? म बिहे गर्छु । छोराछोरी जन्माउँछु । बुढा सासु ससुराको स्याहार गर्छु , अनि घरवारी हुन्छु । अहिले त्यस्तै एक कथा बनेको छ रञ्जु दिदिको । बालापनमा सँगै गोठालो जान्थ्यौं । रञ्जु दिदि भन्नुहुथ्यो – सन्तोष राम्रो पढाई लेखाई गर्नु पर्छ,ठुलो मान्छे बनेर आमाबुवालाई खुसी राख्नु पर्छ । अनि सुन्न त्यो तल्लो घरको दिदि त कति माईत आउनुहुन्छ है ? उहाँको श्रीमानले उहाँलाई हरेक दिन रक्सि पिएर पिट्नुहन्छ रे ? त्यस्तो पनि के बिबाह गर्ने है सन्तोष ? मत त्यस्तोे बिहे सिहे केहि पनि नगर्ने । यस्तै शब्दहरु रञ्जु दिदि गोठालो जाने समयमा बेलाबखत भनि राख्थिन् मलाई । पढाई लेखाईमा राम्रै मिहिनेत गर्ने रञ्जु दिदिको ब्यवहारमा खोट लगाउनु पर्ने खाली ठाउँ नै थिएन । गाउँघरमा मिलनसार,सोझी भनेर चिनिने रञ्जु दिदिको सुन्दरतामा अरुको भन्दा कमि थिएन । सँगैका साथी सँगीहरुको धमाधम बिहे हुदै गर्दा रञ्जु दिदि भने आफ्नो जवानी यौवनको सुगन्धले थरी थरीका केटाहरुलाई आफ्नो वरीपरि लोभ्याउँन्थिन् र तिनी केटाहरुलाई नटेरेझैं भुसुना सम्झिदै आफ्नो बाटो लाग्थिन् कुनै मतलव नै नभए झैैं । आफ्ना सँगी साथीहरुलाई यति छिट्टै बिबाह नगर्नु भनेर पनि सम्झाउन्थिन् तर मन भए पछि कसको के लागोस् र रञ्जु दिदिका साथीहरु भने कोही आफ्नै चाहनाले घरबाटै भागेर त कोही आमाबुवाले रोजेको केटा सँग बिबाह गरेर सपर गर्दै थिए । रञ्जु दिदि भने ति केटाहरुको लागि “आकाशको फल आँखा तरी मर” झैं थिईन् । किनकी रञ्जु दिदिले बिवाह गर्न त के बिवाहको सपना सम्म समेत सोचेकी थिईनन् । तर आज अपसोच्् जे नसोचेको त्यहि हुन गएको छ रञ्जु दिदिको लागि । हिजो आफ्ना साथी सँगीहरुलाई विवाह गर्नु हुन्न भनेर सम्झाउने रञ्जुदिदिलाई आज उसका आमा वुवाले सम्झाउँदै भन्ने गरेका छन् – छोरी,छोरीको जातै यस्तै हो पराईको माल हुनु पर्ने, विवाह गर्दैन भनेर के गर्छस्,साथका साथी सँगीहरु वालबच्चा खेलाउन लागि सके । तेरो पढ्ने इच्छा थियो । हामीले जसोतसो लेखायौं पढायौं । हाम्रो त मन थिएन आफ्नो जन्मे पराईको दैलोमा छिराउने तर के गर्छेस् छोरी, समाजलाई यो कुरा पच्दैन । घरमै बुढीकन्या छोरी पालेकी छे भनेर भोली समाजले कुरा काट्न थाल्छ । नाँई नभन् छोरी । हामी तिमी सँगै छौं । पल्लो गाउँका सचिवको छोरो भर्खर सुब्बाको जागिरमा पोष्टिङ भएको छ । हिजो तेरो हात माग्न आउनु भएको थियो । हामीले छोरी सँग सल्लाह गरेर खवर गरौंला भनेका छौं । खानदान राम्रै छ । केटोको सरकारी जागिर, घरपरिवारलाई पनि सजिलै पाल्न सक्छ । हामीले पनि तिमीलाई उसैको हात थमाई दिने योजना बनाएका छौं । कसो होला छोरी ? हिजो साथीहरुलाई विवाह नगर भनेर सल्लाह दिने रञ्जु दिदि आज आफै दोधारमा परेकी छे । अनि हिजो साथी सँगीहरुलाई नरोऊ भनेर शान्त्वना दिन खाज्ने रञ्जु दिदि आज आफै झन्कार गर्दछे की आफु अब बाँकी रहेन जसरी । आज उसै रञ्जु दिदिलाई उसैका ति साथीहरु सम्झाउादै छन्– नरो रञ्जु, हाम्रो कर्म नै यस्तै हो, पराया घरमा जानै पर्ने । छोरी भएर जन्मिसकेपछि पराईको घरलाई आफ्नो सम्झेर जानुपर्ने विधाताको नियमलाई कसैले पनि हत्कडी लगाउन नसक्दो रहेछ । बाबाआमाको न्यानो काख र मायामोह त्यागेर पराईको अँगालोमा रमाउनुपर्ने नियमले साथीभाइ, आफन्त सबैलाई बिरानो बनाउँदो रहेछ । तिमि त पढेलेखेकी छौ । तिमि जस्तै पढेलेखेको राम्रै केटो पाएकी छौ । अनि तिमी किन रुन्छौ भनत ? रुने त हामीले पो हो । अशिक्षित प¥यौं । श्रीमान पनि उस्तै । दिन भरी चुवातास खेलेर राती दारु घोक्ने,अनि घरमा आएर श्रीमतीलाई पिट्ने । भनत ? तिमिलाई रुनु छ की हामीलाई ? नरोउ रञ्जु आफुलाई सम्हाल सब ठिक हुन्छ । यस्तै यस्तै सल्लाह दिन्छन् रञ्जु दिका साथीहरु । रञ्जुदिलाई भने आफ्नो घर छोडेर पराया घर जान पटक्कै मन छैन । मन नभएर पो के गर्नु ? जसोतसो सम्हालिन खोज्छ । रञ्जुदिको लागि संसारको सबैभन्दा खुसी उसका आमावुवा हुन् । अब उसले अन्तिम योजना बनाउँदै छे । हिजोका दिनमा आफुलाई जन्माउने,पालनपोषण गर्ने,शिक्षा दिक्षा दिलाएर गाउँको सक्षम महिला बनाएर शिर ठाडो पार्न सहयोग गर्ने,उसका आमावुवाको योजना र खुसीमा रञ्जु दिदिले कसरी नाईनास्ती गर्न सक्थी होला र ? उसले पनि हजुरहरुको खुसी नै मेरो खुसी हो भनेर उहाँहरुको प्रस्ताव स्विकार गर्न पुगिन् । आफ्नो भाग्यमा जे लेखेर आएको छ त्यो भोग्नैपर्छ र ढिलो या चाँडो जहिले भए पनि पराईको घरमा जानैपर्छ । भाग्यको खेललाई न इरेजरले मेटाउन मिल्छ, न त कटरले नै चुच्चो बनाउन । विवाहको दिनमा रातो पहिरनमा सजिँदा मोतीजस्तै टल्किन्छन् सबै बेहुली । विधाताको नियमलाई न कसैले बाँध्न सक्छ न त कसैले रबर चुटाएजसरी चुटाउन । जुनसुकै केटीलाई पनि आफ्नो भावी श्रीमान् असल परोस्, आफ्नो भावना बुझोस्, दु.ख सुखमा साथ देओस्, लक्ष्य चुम्न मद्दत गरोस् भन्ने लाग्छ । हो यस्तै रञ्जु दिदि पनि कल्पिदै छिन् होली । सबै पुरुषको मस्तिष्क त म पढ्न सक्दिनँ, तैपनि म एक युवक भएकोले विस्वस्तका साथ भन्न सक्छु की हरेक पुरुषहरूलाई पनि आफ्नी श्रीमती अरूभन्दा स्मार्ट होस् भन्ने लाग्छ होला । मलाई सम्मान दिने श्रीमती मेरो भागमा परोस् भन्ने लाग्दो होला । यहाँ रञ्जु दिदिको स्विकार सँगै रञ्जु दिदिको विवाह हुने समय तय गरियो । रञ्जु दिदिको विवाहको सन्देश गाउँघरमा एक कान दुई कान हुदै ओल्लो–पल्लो गाउँ सम्म समेत पुुग्यो । चन्द्रमुखी मुहार भएकी रञ्जु दिदिको लागि तड्पिने ति केटाहरु सम्म समेत पुग्यो उसको विवाहको खवर । प्रेम दिवसको मौका छोप्ने गरी लेखिएका लामा–लामा हस्त लिखित प्रेमपत्रहरु च्यात्दै आफुले समयमै प्रेम प्रस्ताव राख्न नसकेको धिक्कार्दै लठ्ठी रहेका देखिन्छन भने कोहिँ जवान युवाहरु चाहिं आफ्ना हातमा ब्लेडले खोप्दै पिडाको आराम लिईरहेका देखिन्छन् । रञ्जु दिदिको विवाहको दिनहरु पनि नजिकिदै छ । आजभोली गाउँमा सबैले रञ्जुदिलाई बेहुलीको उपमा दिएका छन् । सबैले उसलाई गाउँघरमा बेहुली भनेर बोलाँछन् । हो साँच्चै बेहुली दिदि आजभोली बेहुली जस्तै बनेकी छे । सरल स्वभाव, सबै सँग निहुरिएर कुरा गर्न थालेकी छे । हिजो गाउँघरमा तुरुकफुरुक गर्ने रञ्जु दिदि आज आफुलाई सभ्य कल्पिन्छे होली । दिन बित्दै,हप्ता बित्दै रञ्जु दिदिको विवाहको दिन पनि आयो । गत साल तल्लो घर पारु दिदिको बिहेमा खुवै रमाईलो गरी कम्मर मर्काएकी रञ्जु दिदि आज आफ्नै बिवाहमा भने बिलौना गर्न ब्यस्त देखिन्छे । सायद आफ्ना पुराना साथी सँगीहरुबाट पोइली घरमा गर्नु पर्ने काम धन्दाको सापटी माग्दै थिई होली क्यारे ? सबैको बिचमा देखिन्छे । वरीपरि उसका साथी सँगीहरुले घेरिएकी छे । रुदै कराउँदै एक–एक गरी अंकमाल गर्दैछे । सोच्छु–सायद उसका साथी सँगीहरुले सल्लाह–सुझाव नदिएका हुन् की ? त्यसैले पो झन चलायमान भएर डाढ मार्दै पो हो की ? रातो साडी, रातै चुरा सबै रातो पहिरनमा सजिएर बेहुलीबन्दा सबैको मुहार मोतीझैं चम्केको देखिन्छ । तर रञ्जु दिदिको मुहार भने मलिन छ । त्यहि माहोलको विचमा रञ्जु दिदिको विवाह पनि सम्पन भयो । आज म देखि रहेको छु । गत साल तल्लो घर पारु दिदिको विवाह भयो । रञ्जु दिदि र पारु दिदि सँगैको हुन् क्यारे । तर पारु दिदि आजभोली रञ्जुदि भन्दा धेरै जेठो जस्तो देखि रहेकी छिन् । अनि सोच्छु–रञ्जुदिदि पनि आउँदो साल सम्म पारु दिदि जस्तै देखिलिन् । विवाह हुनु अगाडी शरिरबाट जवानीको सुगन्ध आउने रञ्जुदिदि भोली उसको बच्चाले छातीमा पिसाव गर्ला । आज जवानीको सुगन्ध आउने रञ्जु दिदिको शरिरबाट भोली पिसावको गन्ध आउला । आज उसको सुन्दरताले नजिकिने केटाहरु भोली टाढैबाट बाटो काट्लान् । हो, अझ साोच्छु त्यसैले त रञ्जु दिदिले विवाह कहिल्यै पनि विवाह गर्दैन भन्ने निर्णय गरेकी हुँदी होलिन् । सायद लाग्छ,बेहुली दिदिलाई आफ्नो सुन्दरताको घमण्ड कायम राख्ने सोच हुँदो होला । त्यसैले त बेहुली दिदिले विवाह गर्दैन भनेकी होली ।