डोटी,२२ फागुन ।विश्वभर सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध डोटीमा एक निजी विद्यालयले जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भागरति एकेडेमीले कोरोना भाइरस के हो यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूको बारेमा जनचेतनामूलक सन्देशहरू भएका पम्पलेट वितरण गर्नुका साथै प्लेकार्ड सहित सिलगढी बजार परिक्रमा गरेको भागरति एकेडेमीका सञ्चालक हेमराज मलासीले बताए ।
उनले भने कोरोना ढिलो चाँडो नेपालमा आउन सक्छ त्यसैले यसको पूर्व तयारका लागि यस्ता विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिएको बताए । उनले कोरोनाको बारेमा सबै मानिसहरूले जानकार हुन आवश्यक रहेको बताउँदै नेपाल सरकारले कोरोना भाइरस नेपाल भित्रिन नदिन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने समेत बताए ।
मंगलबार सम्म कोरोना भाइरस आक्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ३ हजार १०० नाघेको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट फैलिएको यस भाइरसको सक्रमण हाल ७० भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ