आसामी फिल्मले यसरी तोड्यो 'बाहुबली'को रेकर्ड

गुवाहटी- आसामी फिल्म 'मिसन चाइना'ले बाहुबली फिल्मको कीर्तिमान तोडिदिएको छ। फिल्मले आसाममा 'बाहुबली' फिल्मले बनाएको पहिलो दिनको व्यापारिक रेकर्ड तोडेको हो। 'मिसन चाइना'लाई हालसम्मकै सर्वाधिक महँगो आसामिज फिल्म मानिएको छ। फिल्मले रिलिजको पहिलो दिन नै करिब ३९ लाख भारू कमाइ गरेपछि 'बाहुबली'को रेकर्ड तोडेको हो। फिल्म ६५ हलमा लागेको थियो। हिन्दुस्तान टाइम्सका अनुसार सन् २०११ पछि आसामी फिल्मले गरेको यो ब्लकबस्टर व्यापार हो। फिल्मले बाहुबलीसँगै सलमान खानको 'बजरंगी भाइजान'को रेकर्ड पनि तोडेको छ। 'मिसन चाइना' अघि 'रामधेनु' फिल्मको नाममा सर्वाधिक व्यापारको रेकर्ड थियो। फिल्मका वितरक सिद्धार्थ गोयन्काले व्यापारमा बलिउड फिल्मलाई मिसन चाइनाले पछारेको बताएका छन्। यो फिल्म सर्वाधिक बजेटको फिल्म हो। सामान्यतया आसामी फिल्मको औसत बजेट ५० लाख भारूको हाराहारीमा हुने भए पनि 'मिसन चाइना' २ करोड बजेटमा बनेको हो। फिल्मकी निर्मात्री गरिमा सायिकिया गर्गले फिल्मको लगानी उठ्न एक साताभन्दा बढी सफलताका साथ चल्नुपर्ने बताएकी छन्। 'एउटा औसत आसामी फिल्म ५० लाखमा बन्छ। हाम्रो २ करोड पुगेको छ किनकि हामी सिनेम्याटिकल्ली समृद्ध फिल्म बनाउन चाहन्थ्यौं,' उनले भनेकी छन्, 'फिल्ममा त्यसका लागि एरियल सट, पारा मोटरिङ लगायतका कुराको प्रयोग गरेका छौं।' गतिलो मनोरञ्जनात्मक फिल्म बनाउने उद्देश्यअनुसार फिल्मले राम्रो प्रतिक्रिया बटुलिरहेको उनले बताइन्। फिल्ममा प्रस्तुत रोमान्स, कमेडी, ड्रामा तथा एक्सनको सम्मिश्रणलाई दर्शकले मन पराएको र यस्ता कुराहरू यसअघिका आसामी फिल्ममा प्रस्तुत नगरिएको उनको भनाइ छ। फिल्मको सफलताका लागि आसामका ग्रामीण तथा अर्धग्रामीण इलाकामा प्रोजेक्टरका माध्यमबाट गरिएको प्रचारले ठूलो भूमिका खेलेको पनि उनले बताइन्। 'हामीले गाँउगाँउ गएर मानिसहरूलाई भेटर फिल्मको प्रचार गर्यौं जसमा सामाजिक सञ्जालले पनि राम्रै भूमिका खेल्यो,' गरिमाले फिल्मको प्रचारका बारेमा बताइन्। फिल्मको आक्रfमक व्यापारका लागि कलाकार एवं बलिउड पार्श्व गायक जुबेन गर्गको ख्याति महत्वपूर्ण रह्यो। फिल्ममा उनी सेनाका अधिकारीको भूमिकामा छन्। व्यापारले आसामी फिल्मलाई बेग्लै ऊर्जा दिएको फिल्म निर्माता-वितरक अब्दुल मनान फारूक बताउँछन्। फारूकको आगामी फिल्ममा पनि जुबेन मुख्य भूमिकामा छन्। निर्माता एवं वितरक उत्साहित भए पनि फिल्म समीक्षक चन्दन शर्माले भने 'मिसन चाइना'को व्यापारबाट आसामी फिल्मी क्षेत्र फुर्किइहाल्नु नपर्ने प्रतिक्रिया दिएका छन्। उनले भने, ' फिल्मका लागि जुबेनले आफ्नो लोकप्रियताले काम गरेको छ। यसले आसामी फिल्मको व्यापारलाई कुनै प्रभाव पार्ने छैन किनकि आसामी फिल्मको आक्रामक बजारीकरणसँग बम्बैया तथा मद्रासी फिल्मसँग कुनै तुलना हुन सक्दैन।'