दुई रूपैयाँ : निश्चल र आशिफले न्याय गर्न नसकेको फिल्म

काठमाडौं- दार्ही (आशिफ शाह) र जुरेली (निश्चल बस्नेत)ले सिमापारि (भारत)बाट आउने अवैध सामान नाकामा बुझ्ने काम गर्छन्। कारोबारका लागि प्रत्येक पटक दुई रूपियाँको नोट दिनुपर्ने हुन्छ, जसमा अंकित नम्बरका आधारमा कारोबार सम्पन्न हुन्छ। 'वान मिस, गेम फिनिस'को सिद्धान्तमा कारोबार चलाउने टीका पहारीका लागि काम गर्ने दुई ठिटा फेरि एउटा कामका लागि निस्कँदा घट्न जाने घटनाक्रममा 'दुई रूपियाँ'को कथा घुमेको छ। झन्डै दुई घन्टा लामो फिल्ममा कारोबारका लागि दिइएको 'दुई रूपियाँ'को नोट हराएपछिको घनचक्करलाई फिल्मले बोकेको छ। आसिम शाहको निर्देशकीय डेब्यू फिल्म पर्दामा भने कमजोर बनेको छ। सानो घटनाले फिल्मका पात्रमाथि पार्ने असरको चित्रणमा बलिउडमा 'मालामाल विक्ली', 'हेराफेरी'जस्ता फिल्म बनिसकेका छन्। नेपाली फिल्ममा सम्भवत: यस्तो विषयमाथि बनेको यो नै पहिलो फिल्म हो। दर्शकलाई ठाउँठाउँमा संवादले हँसाउनुबाहेक गतिलो मनोरञ्जनको अपेक्षा फिल्मले पूरा गर्दैन। संरचनागत रूपमा पटकथा बलियो भए पनि फिल्मका मुख्य कलाकार आशिफ र निश्चलको अभिनय भने दमदार छैन। फिल्म हेरिरहँदा उनीहरू अभिनित पात्रभित्र नपसी सतहमा मात्र दौडिएको जस्तो देखिन्छ। पात्रको चरित्र निर्माणमा अझै धेरै मिहिनेत गर्न सक्ने ठाउँ दुवै कलाकारले प्रसस्त छोडेका छन्। फलत: स्क्रिन स्पेसको ज्यादातर भाग र समय ओगटेका उनीहरूको फितलो अभिनयले फिल्मलाई कमजोर बनाएको छ। फिल्ममा अन्य पात्रको अभिनय भने प्रभावशाली छ। पछिल्लो समय रिलिज भएका फिल्महरूमा मुख्य कलाकारभन्दा साहयक कलाकारको अभिनयले फिल्मलाई बोकिरहेको छ। 'दुई रूपैयाँ' पनि त्यसैको सिलसिला बनेको छ। फिल्ममा 'मण्डल'को भूमिकामा अभिनय गर्ने रविन्द्र झा, 'झिमरूक दाइ'को भूमिकामा रहेका राजन इशान तथा 'सई'को भूमिकामा अभिनय गर्ने बुद्धि तामाङले उम्दा काम गरेका छन्। उनीहरूको अभिनय र 'कमिक टाइमिङ'को सही संयोजनले भने फिल्म हेरुन्जेल बोर लाग्दैन। त्यस्तै, प्रतिक राज पाण्डे, मेनुका प्रधान र टीका पहारीको काम पनि प्रसंशायोग्य छ। फिल्मको बलियो पक्ष पटकथा हो। एकपछि अर्को पात्र जोड्दै लेखेको पटकथा संरचनागत हिसाबले अब्बल छ। यसका लागि आसिफ शाह, आशिष रेग्मी, असिम शाह र विजय अधिकारीले गरेको मिहिनेत पर्दामा देखिन्छ। फिल्मको संवादमा पनि खासै खोट लगाउने ठाउँ छैन। फिल्ममा गीतहरूलाई परिस्थिति मिलाएर राखिएको छ। गीतले मूल कथालाई 'डिस्टर्ब' गरेका छैनन्। त्यस्तै, शिवराम श्रेष्ठको छायांकन ठीकठाक लाग्छ भने राजकुमार उप्रेतीको एक्सन कोरियोग्राफी कामचलाउ छ। लोकेश बज्राचार्यको सम्पादन कैँची राम्रो चलेको छ। डेब्यू निर्देशक असिमको काम पर्दामा खास लाग्दैन। फिल्म निर्देशकको क्यापटेनसिप भन्दा पनि टिमवर्कको नतिजा जस्तो बनेको छ। निश्चल र आसिफको अभिनय मूल्यांकन गर्दा उनीहरु निर्देशकको अधिनमा रहेजस्तो देखिन्न। समग्रमा 'दुई रूपियाँ'ले दर्शकको मनोरञ्जनको अपेक्षालाई पूरा गर्न सकेको छैन। फिल्मका दुई मुख्य कलाकारका कारण एउटा राम्रो मनोरञ्जनको खुराक पर्दामा कमजोर भएको छ, बिग्रिएको छ। फिल्मले समय त कट्छ, तर दर्शकको अपेक्षा पूरा गर्न सक्दैन। फिल्म औषतको नजिक मात्र छ।