काठमाडौं । सत्तारूढ समाजवादी पार्टी, नेपालले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपालाई पतनको दिशामा अघि बढेको टिप्पणी गरेको छ ।
बिहीबारबाट शुरू भएको सङ्घीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेकाले संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने ठोकुवा गरिएको छ ।
“आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ । यो पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिक पतनका घटनामा लज्जास्पद ढंगले उदांगिदैछन,” उसले भनेको छ ।
आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको बताउँदै शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि जारी रहेको समाजवादीले उल्लेख गरेको छ ।
“एनसेलको पुँजीगत लाभकर, बूढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण भएका छन् । सम्पति शुद्धीकरण विभागलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरू बिना टेन्डर सीधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन,” प्रतिवेदनमा भनिएको छ ।
प्रचण्ड नेतृत्वको माओवादी र एमाले एक भएर बनेको सत्तारुढ नेकपा अहिले ‘संसदवादी’ र ‘कम्युनिष्ट’ बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको समाजवादीको दृष्टिकोण छ । पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रूपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बनेको उसको निष्कर्ष छ ।
“एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवाद– माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ । यही वैचारिक संकटबीच उनीहरुले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रूपमा मात्र कम्युनिष्ट’ भएको बुझिदिन आग्रह गर्दै आएका छन् । एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन् अर्कोतिर ‘कम्युनिष्ट– कम्युनिष्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्नेवित्तिकै गौरवीकरण गर्दछन् । यसरी नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरूङभित्रको यात्रा गरिरहेको छ,” समाजवादीले निचोड निकालेको छ ।
वर्तमान संविधान जारी गर्दाका बखत कांग्रेससँग मिलेर मधेसी, जनजाति, आदिवासी, थारु, मुस्लिम, खस, शिल्पी, दलित, महिला आदि आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन तत्कालीन एमाले र अहिलेको नेकपा उद्दत रहेको समाजवादीको आरोप छ ।
“टिकापुर थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, १० प्लस १ को मोडलमा प्रदेश सिमांकन हुन नदिने कार्यमा नेकपाको प्रत्यक्ष हात छ,” उसले भनेको छ ।