कञ्चनपुर, २७ कात्तिक – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कञ्चनपुर र बैतडीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर – ३ मा अध्यक्ष पदका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन् भने बैतडीमा ८ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
पुर्नवास नगरपालिका वडा नम्बर – ३ मा वडा अध्यक्षका लागि नेकपाका कृष्ण तामाङ , नेपाली कांग्रेसका दीप तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पाटीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
पाँचै जनाले पुर्नवासमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । वडा अध्यक्ष रिक्त रहेका बैतडीका ३ वडाका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी मंसिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिका –४, सुर्नया गाउँपालिका – १ र पुर्चौडी नगरपालिका – ४ मा उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीका तीनवटै वडामा बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
सुर्नया गाउँपालिका – १, दोगडाकेदार गाउँपालिका – ४ र पुर्चौंडी नगरपालिका – ४ को वडा अध्यक्ष पदका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
सुर्नया गाउँपालिका – १ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो ।
यस्तै, पुरचौंडी नगरपालिका – ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए ।
यस्तै, दोगडाकेदार गाउँपालिका –४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ ।
नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । मनोनयन दर्ता गरेका उम्मेदवारहरूको बुधबार नै अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको थियो । भोली उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले आयोगले जनाएको छ ।