महिला समुह महिला माथि हुने हिंसाका बारेमा बहस गर्ने थलो बन्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

महिला समुह महिला माथि हुने हिंसाका बारेमा बहस गर्ने थलो बन्दै

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-१८
  • सुन्नुहोस् 
228   
महिला समुह महिला माथि हुने हिंसाका बारेमा बहस गर्ने थलो बन्दै : Phulbari Khabar

कैलाली । कैलालीको गोदावरी नगरपालिका – ४ खैरानाका महिलाहरू प्रत्येक साता समूहमा बस्छन् । समूहमा उनीहरूले बचत सङ्कलन गर्ने देखि लिएर विभिन्न योजनाका बारेमा छलफल गर्छन् । आफूलाई परेका समस्या राख्दै भलाकुसारी गर्छन् । समूहमा महिलामाथि हुने हिंसाका विषयमा पनि समूहमा कुरा उठाउँछन ।

Phulbari Khabar

समूहकी सदस्य कौशिल्या कुमारी सार्की समूह महिलामाथि हुने हिंसाका बारेमा बहस गर्ने थलो बनेको बताइन । उनले गाउँघरमा महिला हिंसा धेरै खुल्न नचाहने गरेपछि पछिल्लो समय समूहमा बस्दा आफ्ना कुरा सुनाउन थालेको बताइन् । ‘महिला कमजोर भएर नै महिला हिंसा हुने गरेको छ’ उनले भनिन् ‘हिंसा सहेर पनि हामी बाहिर खुल्न चाहँदैनौ । जसले महिला पीडामा परेका छन् । अब महिलाहरूले महिलाका समस्या बुझेर सङ्गठित भएर आवाज उठाउनु पर्छ ।’ उनले राजनीतिक पहुँच, आर्थिक हैसियतका आधारमा न्याय दिइने गरेकोले यसको लागि महिला नै एक जुट हुनु पर्ने बताइन् । उनले महिला हिंसाका घटना बाहिर ल्याउन लागि महिलाहरूले एक आपसमा मिलेर अघि बढ्नुको विकल्प नभएको बताइन् ।

गोदावरी नगरपालिका – ४ की वडा सदस्य समेत रहेकी रेश्मी देवी चौधरीले महिलाहरू एकजुट हुन थालेपछि आवाज उठाउन सहज भएको बताइन । उनले महिला हिंसाका घटनामा पहिलेको तुलनामा सुधार आएको बताइन । ‘पहिलोको तुलनामा धेरै नभए पनि थोरै सुधार भएको भएको छ’ उनले भनिन ‘हुन त अहिले पनि बुझ पचाएर पनि उमेर नपुगी बिहे गर्ने धेरै छन् । अहिले पनि बहुविवाह, कुटपिट, दाइजो प्रथा जस्ता महिला हिंसा हुने गरेका छन् ।’

Phulbari Khabar

उनले अहिले पनि बालबच्चा नभएको भन्दै दोस्रो बिहे गर्न पनि महिलामाथि धेरै हिंसा हुने गरेको बताइन् । उनले आफूकहाँ पनि बालबच्चा नभएको भन्दै अर्को बिहे गर्ने समस्या लिएर धेरै महिला आउने गरेको बताइन् ।

विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले बाल अधिकार संरक्षणका लागि महिला सशक्तीकरण परियोजना अन्तरगत वडामा हाल ८ वटा समूह निर्माण गरेको छ । जसमा महिलाहरू हरेक हप्ता बैठक बस्ने गरेका छन् । बैठकमा बचत उठाउने देखि लिएर योजना बनाउने, विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गर्ने काम गरिँदै आएको यार्डकी वडा नम्बर ४ की सामाजिक सहजकर्ता साबित्रा बोहराले बताइन् । उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा सोही समूहहरूमा बहस, छलफल, सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन ।

उक्त परियोजना हाल गोदावरीका ६ वडामा सञ्चालन छ । जहाँ प्रत्येक वडामा ८ वटा समूह निर्माण गरिएका छन् । समूहमा आबद्ध गोदावरी नगरपालिका – १० खमौराकी भागरथी धामीले पछिल्लो समय महिलाहरू सङ्गठित हुँदै गएपछि महिला हिंसाका घटनामा केही कमी आएको बताइन् । खुसी आत्मनिर्भर समूहकी सदस्य रहेकी उनले महिला हिंसाका विषयमा पनि आफूहरूले समूह मार्फत जानकारी पाएको बताइन ।

‘महिला हिंसा भएमा दबेर बस्नु पर्दैन भनेर हामीले बुझेका छौ’ उनले भनिन ‘अहिले कानुन छ । वडामा समस्या राख्न सकिन्छ, नगरमा जान सकिन्छ, विभिन्न सङ्घसंस्था छन् । त्यहाँ गएर न्याय पाउन सकिन्छ । अहिलेको महिलाले हिंसा सहेर दबेर बस्नु हुँदैन ।’ उनले महिलाले महिलामाथि हिंसा गर्ने भएकाले त्यसको अन्त्य गर्नुपर्ने बताइन् । ‘हामीले पनि छोरालाई पढ्न लगाउने छोरीलाई रोटी पकाऊ, घाँस काट भनेर विभेद गरिरहेका हुन्छौ’ उनले भनिन ‘छोरा छोरालाई समान व्यवहार गर्न आवश्यक छ ।’

गोदावरी नगरपालिका १ चैतन्यपुरकी नन्दा भट्टले अहिले पनि घर भित्र महिलामाथि हुने हिंसा कायमै रहेको बताइन । उनले घरभित्र हिंसा भए पनि बेजत हुने डरले हिंसा लुकाउने समस्या अझै पनि कायमै रहेको बताइन । उनले मागी विवाह गर्दा बिस वर्ष पुगेर गर्ने गरिएको भए पनि भागी विवाह भने उमेर नपुगी हुने गरेको बताइन् । पठनपाठनमा भने विभेद कम भएको उनले बताइन । उनले कुनै महिला समस्यामा परेर गाउँमा निर्माण गरिएका समूहमार्फत सहयोग गर्ने गरिएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च