धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव–२०८२मा व्यवसायी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा खेलाडीका लागि विशेष प्रवेश सुविधा लागू गर्ने घोषणा गरेको छ। संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार संघमा आवद्ध व्यवसायी सदस्यहरूलाई परिचयपत्रकाे आधारमा निःशुल्क प्रवेश पास प्रदान गरिने घोषणा गरेको हो ।
अध्यक्ष ओझाले सुदूरपश्चिम महोत्सव सम्पूर्ण सुदूरपश्चिमवासीकै साझा उत्सव भएकाले यसलाई भव्य र सफल बनाउन सबै व्यवसायीको सक्रिय सहभागिता आवश्यक हुने बताए। “ महोत्सव संघको मात्र कार्यक्रम होइन, सुदूरपश्चिमका सबै व्यवसायीको संयुक्त आयोजन हो,” उनले भने।
हाल कैलाली उद्योग वाणिज्य संघमा तीन हजारभन्दा बढी व्यवसायी सदस्यता प्राप्त गरिसकेका छन्। दर्ता तथा नविकरण पूरा गरेका सदस्यहरूलाई मात्र निःशुल्क प्रवेश उपलब्ध हुनेछ। त्यस्तै, विद्यार्थी तथा खेलाडीका लागि प्रवेश टिकटमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको संघका कार्यकारी अधिकृत दिनेश ओझाले जानकारी दिए।
सुदूरपश्चिम महोत्सव–२०८२ आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी–१ पशुपति टोलस्थित पूर्वनिर्धारित स्थलमै आयोजना हुनेछ।










तपाइको प्रतिक्रिया दिनुहोस्