धनगढी। सुदूरपश्चिम प्रदेशमा अपाङ्गता सम्बन्धी विद्यमान नीति, कार्यक्रम तथा सेवाहरूको प्रभावकारी कार्यान्वयनबारे आज धनगढीमा व्यापक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता क्षेत्रको अवस्थाको समग्र मूल्यांकन गर्दै सुधारका सम्भावनाहरू पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रदेशका उच्च सरकारी अधिकारीदेखि स्थानीय तहका प्रतिनिधि, सरोकारवाला तथा अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
धनगढी उपमहानगरपालिका–१, शिवनगरस्थित राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका निमित्त प्रमुख सचिव, सामाजिक विकास मन्त्रालय तथा उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव, धनगढी उपमहानगरपालिकाका उपप्रमुख, सञ्चारकर्मी तथा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रम राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा तथा डिआरएफ को सहयोगमा गरिएको थियो। अन्तरक्रियामा सहभागीहरूले प्रदेशमा लागू भएका अपाङ्गता सम्बन्धी नीति, कार्यक्रम र सेवा प्रवाहका वर्तमान चुनौती, व्यवहारिक समस्या तथा आगामी सुधारका उपायहरूबारे विस्तृत प्रस्तुति राखे। अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न सरकारी निकाय, स्थानीय तह र सरोकारवाला संस्थाबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष सहभागीहरूले साझा रूपमा प्रस्तुत गरे।
सचिवस्तरीय अधिकारीहरूले भने अपाङ्गता क्षेत्रलाई सरकारको प्राथमिकतामा राखेर सेवा पहुँच विस्तार, समावेशी नीति निर्माण, अध्ययन–अनुसन्धानलाई मजबुत बनाउने र आवश्यक बजेट व्यवस्था गर्दै कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पहुँचयोग्य पूर्वाधारका क्षेत्रमा देखिएका कमजोरी तत्काल सुधार गर्नुपर्नेमा जोड दिंदै आगामी नीतिगत कदमका लागि ठोस सुझाव पनि प्रस्तुत गरे।
आयोजक संस्थाका अनुसार, आजको अन्तरक्रिया कार्यक्रमले सुदूरपश्चिममा अपाङ्गता संबंधी आवश्यकताहरू, स्रोत–साधनको अवस्था, माग र सम्भावित सुधारका उपायहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमले सरकारी निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य र संवादलाई थप संस्थागत गर्न मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।










तपाइको प्रतिक्रिया दिनुहोस्