धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिममा मतदाता नामावली दर्तामा युवाको सक्रियता उल्लेख्य देखिएको छ। दर्ताको काम अन्तिम चरणमा पुगेपछि प्रदेश निर्वाचन कार्यालयअगाडि युवाहरूको भीड दिन–प्रतिदिन बढ्दै गएको छ।
हालको राजनीतिक वातावरण तथा जेनजी समूहको आन्दोलनले प्रभावित भएका धेरै युवा पहिलोपटक मतदाता बन्न उत्साहित छन्। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्लास्तरीय कार्यालयहरूमा युवाहरूको उपस्थिति उच्च रहेको छ।
उमेर पुगेका नयाँ युवा र पहिले नाम नदिई छुटेकाहरू दुवै मतदाता बन्न जिल्ला निर्वाचन कार्यालय पुगेका छन्। सुरुमा चाप कम भए पनि अन्तिम दिन नजिकिँदै जाँदा सेवाग्राहीको संख्या तीव्र रूपमा बढेको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
उनले मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रूपमा भइरहेको बताए । अहिले दैनिक पाँच सय देखि सात सय जनासम्म नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालयमा आउने गरेको उनको भनाइ छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा १३ हजार १६९ जना नाम दर्ता भइसेकको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गोदावरी नगरपालिका गेटाकी कल्पना नेपालीले मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्न आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको बताए । अहिलेको सरकारले युवा चाहना र देशको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।
प्रदेश निर्वाचन कार्यालयमा हिजोआज बिहानदेखि साँझसम्म फोटो खिचाउन आउनेमा युवा बढी देखिएका हुन् । विगतमा मतदानप्रति उदासीन रहेका युवा पनि यस पटक भने आशावादी देखिएका छन् । नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । गएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशभर कुल मतदाता १६ लाख ७४ हजार ६२३ जना रहेका थिए ।
बाजुरा समाचारदाताका अनुसार बाजुरामा ५८७ नयाँ मतदाता थपिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले नयाँ मतदाता नामावली बनाउन सहज गरेसँगै बाजुरामा ५८७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्ग महतले बताए । बाजुरामा २०८२ भदौसम्म ४१ हजार ९२० महिला, ४४ हजार ५३५ पुरुष र तीन जना अन्य गरेर ८६ हजार ५७५ जना मतदाता रहेको महतले बताए ।










तपाइको प्रतिक्रिया दिनुहोस्