धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिकिसान पाँच हजार रुपैयाँ दिने भएको छ। प्रदेशको चालु आर्थिक वर्षको बजेटअनुसार नौै वटै जिल्लामा यस कार्यक्रम लागू गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले जानकारी दिए।
उनका अनुसार कार्यक्रमका लागि जम्मा ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। कैलालीका लागि १५ लाख, कञ्चनपुरका लागि १२ लाख ५० हजार र अन्य सात जिल्लाका लागि प्रतिजिल्ला १० लाखका दरले बजेट छुट्याइएको छ।
यो प्रोत्साहन रकम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत वितरण हुने र बजेट सम्बन्धित केन्द्रहरूमा उपलब्ध भइसकेको मन्त्रालयले जनाएको छ।
सूचना अधिकारी झाले उक्त प्रोत्साहन रकम पाउनका लागि किसानले हलगोरुरराँगा पालेको हुनुपर्ने, कृषि तथा खेती गरिरहेको हुनुपर्ने, तराईका जिल्लाका हकमा गोरुगाडा(डल्लब) हुनुपर्ने तथा किसानसँग हलो हुनुपर्ने व्यवस्था गरिएको बताए।
प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेका जिल्लाको हकमा सोही स्थानीय तह र अन्य जिल्लाको हकमा विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले बताए। प्रोत्साहन रकम किसानको बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको सूचना अधिकारी झाले बताए।










तपाइको प्रतिक्रिया दिनुहोस्