धनगढी ।धनगढी उपमहानगरपालिका अन्तर्गत हुलाकी सडक खण्डको बेली जंगल क्षेत्रमा सडक बत्ती नहुँदा यात्रुलाई सास्ती हुने गरेको छ । दिनभर धनगढीमा मजदुरी तथा दैनिक कामकाज गरेर अबेर बेलुका घर फर्कने बेली, जुगेडा, कनरी, उर्मा तथा फूलबारी क्षेत्रका नागरिकलाई सडक बत्ती नहुँदा समस्या हुने गरेको हो । जंगली जनावरले बाटो काट्ने, सडकमै रहेका छाडा पशु चौपाया तथा केही अपराधिक मानसिकता भएका मानिसका कारण सडकमै सडक बत्ती नहुँदा दुर्घटनाको खतरा बढेको छ ।
धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा मात्रै सडक बत्ती जडान गरे पनि सो सडक खण्डमा सडक बत्ती जडानको पहल थालेको छैन । जसले गर्दा आम नागरिक असुरक्षा महसुस गर्न थालेका छन् । स्थानीयले सो सडक खण्डमा सडक बत्ती जडान गरीदिन धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई आग्रह गरेका छन् ।
करिब दुई किलोमिटर क्षेत्रमा जगल एरिया पर्ने र सो ठाउँमा सडक बत्ती जडान नहुँदा रातिको समयमा आवतजावत गर्न असहज भइरहेको स्थानीय कृष्णबहादुर कुँवरले बताएका छन् । धनगढी–१५ का स्थानीय गोकुल पण्डितले पनि आवश्यक स्थानमा नभई अन्यत्र बत्ती राखिएको गुनासो गरेका छन् । उनले धनगढीका बिभिन्न स्थानमा झिलीमिली भएपनि आवश्यक स्थानमा धनगढी उपमहानगरपालिकाले ध्यान नदिएको गुनासो गरे ।सडक बत्ती नहुँदा राति जनावरको डर बढ्ने र दुर्घटनाको सम्भावना उच्च रहने भएकाले सडकमा बत्ती जडान अत्यावश्यक रहेको विनोद भनाई छ ।
जङ्गल सुरु हुनु अघिसम्म र जङ्गल कटिसकेपछि सडक बत्ती जडानको काम तीव्र गतिमा भइरहेको भए पनि सामुदायिक वन पर्ने भागमा बत्ती नहुँदा यात्रुहरू डर झेल्दै हिँड्न बाध्य छन् । अँध्यारोमा वन्यजन्तु तथा लुटपाट जस्ता अपराधिक गतिविधि हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल बत्ती जडानका लागि माग गरेका हुन् ।
यस सम्बन्धमा हामीले धनगढी उपमहानगरपालिकामा जिज्ञासा राख्दा जंगल भएका कारण समस्या भएको बताउँदै सरोकारवालाहरुले थप जानकारी दिन आनाकानी गरेका छन् ।










तपाइको प्रतिक्रिया दिनुहोस्