तिहारमा खेलिने देउसी भैलोको मौलिकता हराउँदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

तिहारमा खेलिने देउसी भैलोको मौलिकता हराउँदै

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-२
  • सुन्नुहोस् 
555   
तिहारमा खेलिने देउसी भैलोको मौलिकता हराउँदै : Phulbari Khabar

धनगढी ।  परम्परागत शैलीका पोशाक लगाएका पुरुष तथा महिलाहरु आ–आफ्नै समूहमा कम्मरमा मादल भिरेर मजिरा बजाउँदै घर आँगनीमा पुग्छन् । आँगनीको छेउमा उभिएका भैलेरु मध्यबाट एक जनाले भैलो भट्याउछन् । बाँकी सबैले भैलो तथा देउसी भन्दै लय मिलाउँछन् । भट्याउनेले आशिष दिँदै भैलो तथा देउसी सकाइन्छ । त्यसपछि मौलिक गीत गाउँदै नाच्न थाल्छन् । यत्तिकैमा घरबेटीले दीयो बत्ती बालेर तिहारका लागि पकाइएको मीठा परिकार, चामल, दक्षिणा तथा टीका अक्षतासहितको नाङ्लो भैलेरुको अगाडि राखिदिन्छन् । त्यही दान लिएर भैलेरु फर्कन्छन् ।

Phulbari Khabar

यो परम्परागत भैली तथा देउसीको एक स्मरण हो । तर, अहिले यी र यस्तै देउसी तथा भैलो हराइसकेका छन् । शहरमा मात्रै हैन गाउँघरमा समेत अहिले ठूलो र चर्को स्वरले डिजे बजाउँदै विदेशी गीत संगीतमा नाच्नेको भीड लाग्न थालेको छ । अहिले भैलोमा मौलिकता छाडेर डिस्को  नाचिन थालिएको छ । परम्परागत देउसी भैलोमा भट्याउने व्यक्तिले घरबेटीलाई आशिष दिने गरिए पनि अहिलेका भैलेरुहरु डिजेमा गीत मात्रै बजाएर नाच्ने गरेका छन् । देउसी भैलोको मुख्य आकर्षण भनेकै आशिष दिने हो । यो आशिषे परम्परा लोप भइसकेको छ । पुस्तान्तरण नहुँदा नव युवकहरुले डिजेमा डिस्को नाच्न थालेका छन् । 

देउसी भैलो संस्कृतिमा पछिल्लो समयमा तोकेर पैसा माग्ने, मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्ने जस्ता विकृति फैलिएको छ । देउसी भैलोेमा आशिष दिएर पो गक्ष अनुसार दिएको दान लिनुपर्छ । तर, अहिलेका युवायुवती देउसी–भैलोमा तोकेरै पैसा माग्ने गरेका छन् । जसले गर्दा हुने खाने भन्दा हुँदा खानेलाई समस्या पर्ने गरेको छ । 

Phulbari Khabar

यस्तै तिहार आउँदा मगर समुदायमा मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य अहिले लोप भइसकेका छन् । लक्ष्मीपूजादेखि भाइटीकासम्म लगातार समुदायमा देउसी भैलो खेलिन्छ । 

अहिले डिजे, साउण्ड बक्समा देशी–विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पुरानो पुस्तालाई भने पटक्कै मन पर्दैन । पुरानो पुस्ता बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्छ त्यो पुस्तालाई र पो त्यो देउसी भैलोको खास परम्परागत शैली हो । 

यस्तै दिपावलीका नाममा जुवा तास मौलाउँदो छ । यो विकृति हो । यस्तो गैरकानुनी कार्य गर्नु दण्डनिय अपराध पनि हो । जुवा तास नियन्त्रण गर्न प्र्रहरी प्रशासनले पनि ध्यान दिनु जरुरी छ ।

देउसी भैलो खेल्दा कात्तिके दानका रूपमा रहेको भैलेरुलाई दिइने दान पुण्य पनि हो । तर, यसलाई कमाऊ धन्दा बनेकोमा पुरानो पुस्ता तथा संस्कृतिविद्हरु चिन्तित छन् ।

देउसी–भैलोेलाई अँध्यारोलाई उज्यालो पार्ने पर्वका रूपमा पनि हेरिन्छ । सांसारिक अँध्यारो मात्रै नभई पवित्र भावनाले आफूभित्र भएको कुरीति, कुसंस्कारको अँध्यारो हटाउँदै एकअर्काबीच सहयोग गर्ने भावना ल्याई मन उजिल्याउने र सामाजिक सद्भावको पर्वका रूपमा देउसी भैलोेलाई लिन सक्नुपर्छ । छरछिमेकबीच वर्षभर भएका झैँझगडा, वैमनस्यता, मनमुटाव बिर्सेर सबैको घरमा गई आशिष दिँदै दान थाप्नु नै सामाजिक सद्भाव हो । तसर्थ यसपालिको दिपावलीदेखि नै हामी सबैले समाजमा सामाजिक सद्भाव कायम गर्दै देउसी भैलोमा आएको विकृति त्यागौं र सभ्य तथा समुन्नत समाजको दिशामा लागौं । दिपावलीको शुभ अवसरमा फूलबारी खबर परिवारको तर्फबाट यहाँहरुलाई लाखौलाख शुभकामना ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च