धनगढी । नेपाली कांग्रेस बैतडी–कैलाली सम्पर्क समितिको प्रथम भेला तथा कार्यसमिति गठन सम्पन्न भएको छ । धनगढीमा आयोजित भेलामा नेताहरूले संगठन विस्तार, विकास र सहकार्यमा विशेष जोड दिएका छन् ।
भेलाका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सहिद दशरथ चन्दको जिल्लाले शिक्षा र संस्कृतिमा अग्रस्थान पाएको स्मरण गर्दै बैतडीको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए । उनले कैलालीमा रहेका बैतडीबासीले कांग्रेसलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी केन्द्रीय सदस्य नृपबहादुर वडले आपसी सहकार्यबाट मात्र पार्टी बलियो हुने भन्दै सम्पर्क समितिले बैतडी र कैलालीबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले जिल्लालाई विकासमा पछाडि पार्ने प्रवृत्तिको आलोचना गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरे । उनले झुलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको धारणा राख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देखिने गरी काम नगरेकोमा खेद व्यक्त गरे ।
यस्तै कांग्रेस कैलालीका सभापति तथा राष्ट्रियसभा सदस्य नारायण दत्त भट्टले संगठन विस्तारमा सम्पर्क समितिको भूमिका महत्त्वपूर्ण हुने बताए ।सम्पर्क समितिका संयोजक प्रयागराज भट्टको अध्यक्षता सम्पन्न भएको भेलामा नेपाली कांग्रेस पूर्व पार्टी सभापति तथा प्रदेशसभा सदस्य शिबराज भट्ट लगायत प्रदेश, जिल्ला , क्षेत्र तथा नगरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
१७ सदस्यीय कार्यसमिति गठन
भेलाले प्रयागराज भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा उपाध्यक्ष तिलकसिंह धामी र नरसिंह भाट, सचिव शंकरसिंह एरी, सहसचिव यज्ञराज अवस्थी र अक्कल बहादुर भण्डारी, कोषाध्यक्ष जयन्ती बोहरा चयन भएका छन् । सदस्यहरूमा प्रेमबहादुर चन्द, सुरज मडै, ईश्वरदत्त पन्त, शंकरदत्त भट्ट, मोहनबहादुर बम, भक्तराज भट्टराई, दीपेन्द्र भट्ट र लक्ष्मी केसी रिजाल रहेका छन् । बाँकी सदस्य पछि मनोनयन गरिने समितिले जनाएको छ ।समितिको बैठकले नेपाल प्रेस युनियनका प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्टलाई प्रेस तथा प्रचार–प्रसार विभागको संयोजकमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।










तपाइको प्रतिक्रिया दिनुहोस्