समयका पानामा उकेरिएका गुरुका अक्षर - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

समयका पानामा उकेरिएका गुरुका अक्षर

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-४-२७
  • सुन्नुहोस् 
2.86K   
समयका पानामा उकेरिएका गुरुका अक्षर : Phulbari Khabar

जीवनको यात्रा कहिलेकाहीँ रमाइलो हुन्छ त कहिलेकाहीँ चुनौतीपूर्ण । त्यो यात्रामा कहिले अँध्यारो हुन्छ त कहिले उज्यालो,कहिले उकालो कहिले ओरालो हुन्छ। त्यहीबेला गुरु त्यो उज्यालो झै हुन्छन् जसले हाम्रो बाटोमा दीप जलाउँछन् र हामीलाई अन्धकारबाट निकालेर उज्यालो तर्फ लैजान्छन। गुरु केवल किताबका पाठ पढाउने व्यक्ति मात्र होइनन् बरु जीवनका पाठ सिकाउने हाम्रा सपनालाई आकार दिने कलाकार हुन। गुरुको ज्ञान र अनुभवले हाम्रो सोचाइलाई व्यापक बनाउँछ र सही मार्गदर्शन गराउँछ। गुरुले मानव जीवनको उद्देश्य र अस्तित्व बुझ्न मद्दत गर्छन। जसले हाम्रो मनको ढोका खोलेर हामीलाई नयाँ सोच र नयाँ दृष्टिकोण दिन्छन्।

Phulbari Khabar

हाम्रो संस्कृतिमा गुरुलाई दिव्य मानिन्छ। गुरुब्रम्हा, गुरुविष्णु: गुरुर्देवो महेश्वर: अर्थात् गुरु ब्रह्म विष्णु र महेश्वरभन्दा पनि ठूला देवता हुन्। किनकि ज्ञान त उनीहरूले दिने गर्छन् जुन अन्धकार हटाउने सबैभन्दा बलियो हतियार बन्छ । गुरु शब्द मात्र होइन एउटा संसार हो। जसले हाम्रो जीवनलाई उज्यालो दिन्छ अन्धकार हटाउँछ र ज्ञानको दीप जलाउँछ। गुरुले हामीलाई मात्र ज्ञान दिनुहुन्न, आत्मबल पनि दिन्छन्। कहिलेकाहीँ गुरुको एउटा सानो सुझावले हाम्रो पूरा जीवन नै बदलिन्छ। त्यसैले गुरु हाम्रो जीवनका जीवन जेनेरेटर हुन। गुरुको योगदान कहिले सकिँदैन ज्ञानको यो यात्रा कहिले टुङ्गिँदैन र गुरुको त्यो यात्रामा सधैं साथ र हौसला रहिरहन्छ गुरुले कैयौँ गल्तीहरु माफ गरेर सुधार्ने मौका दिन्छन । गुरुको त्यो दया, माया र तपस्या नै हाम्रो जीवनको ठूलो सम्पत्ति हो। 

गुरुहरू हाम्रा जीवनका नायक हुन,जो केवल कक्षाकोठाका चार भित्ताभित्र मात्र सीमित रहँदैनन। उहाँहरुले जीवनका पाठ पढाउँछन त्यो हो धैर्यता, समर्पण, मेहनत,र निरन्तरता। प्राचीनकालदेखि नै गुरुको महत्वलाई उच्च स्थानमा राखिएको छ। वैदिक कालमा त गुरुकुल प्रणाली चल्दै आएको थियो। जहाँ विद्यार्थीहरू गुरुका सहवासमा बसेर ज्ञान प्राप्त गर्दथे। गुरु ब्रह्मा, गुरु विष्णु : गुरुर्देवो महेश्वर भन्ने पुरातन श्लोकले गुरुको दिव्यता दर्शाउँछ। गुरु केवल ज्ञानको स्रोत नभएर संस्कार र चरित्र निर्माणको आधार पनि हुन्छन। उनीहरुले हाम्रो भविष्यको आधारशिला टेकेका हुन्छन। मैले गुरुबाट नै सिकेकी छु कि असफलता कुनै गल्ती होइन सफलता त त्यही हो जुन हार नमान्दा पाइन्छ। गुरुको त्यो शिक्षा केवल ज्ञान मात्र होइन आत्मबल र आत्मसम्मान पनि हो। जसले हामीलाई सफलताको बाटोमा दृढ बनाउँछ। 

Phulbari Khabar

कतिपयले भने तापनि गुरु र शिक्षक एउटै हुन् तर मलाई लाग्छ कि वास्तवमा शिक्षक र गुरुबीच ठूलो फरक छ। शिक्षकले पाठ्यक्रम पढाउँछन् तर गुरुले हाम्रा मनका भावनाहरू बुझेर साथ दिन्छन् जीवनका पाठ पढाउँछन्। हाम्रो भविष्यको निर्माता हुन्छन। मैले मेरो जीवनका अनेकौं मोडहरूमा गुरुहरूको साथ पाएकी छु,हौसला पाएकी छु। जसले मलाई केवल ज्ञान दिएका छैनन, विश्वास र आशा पनि दिएका छन। गुरुको साथले मनमा नकारात्मकता हटेर सकारात्मक ऊर्जा भरिन्छ। गुरुले पढाउने मात्र हैन हामीलाई भविष्यका लागि तयार पनि बनाउँछन। 

गुरु जीवनभरि सत्मार्ग देखाउने साथ दिने निस्वार्थ सच्चा साथी बनिदिन्छन। जब कोही असफलताको आँधीमा पर्छ तब गुरुहरुले हात समाउँछन् र हौसला दिन्छन् उहाँहरूको त्यो माया र समर्थनले शक्ति दिन्छ यही कारणले गुरुलाई हामी हाम्रो जीवनको अनमोल धन मान्छौ। गुरु यसरी हाम्रो मनलाई छुन्छन् कि त्यही अनुभूति जीवनभरि सम्झनामा बस्छ। उहाँहरूको विश्वासले हामीलाई कहिल्यै हार नमान्ने हिम्मत दिन्छ। 

आजको यो विज्ञान प्रविधिको डिजिटल युगमा जहाँ मोबाइल र इन्टरनेटले ज्ञान छरिरहेको छ त्यहाँ पनि गुरुको महत्व त घटेको छैन किनभने ज्ञानभन्दा बढी आवश्यक हुन्छ,सही मार्ग दर्शन र सही सोचाई। भर्चुअल संसारमा पनि त्यो गुरुको माया र स्नेह खोजिन्छ। गुरुहरू त केवल शिक्षक होइनन् उनीहरु हाम्रा मनका साथी हुन् जसले जीवनका प्रत्येक कठिन घडीमा साथ दिन्छन।गुरु र विद्यार्थी बीचको त्यो आत्मीयता डिजिटल युगमा पनि कहिल्यै मेटिँदैन उहाँहरूको शिक्षा हाम्रो सोचाइलाई व्यापक बनाउने स्रोत पनि हो। 

मेरो जीवनमा मैले यस्ता थुप्रै गुरुहरु भेटे। जसले मलाई केवल राम्रो विद्यार्थी बनाउनु भएन राम्रो मानिस पनि बनाउनुभयो। उहाँले सिकाउनुभयो कि सफलता भनेको पद र सम्पत्ति मात्र होइन सदाचार र मानवीयता पनि हो। उहाँहरूको सिकाइले मेरो सोचाइलाई फराकिलो बनायो। र राम्रो मान्छे बन्न प्रेरित भए। उहाँले मलाई सिकाउनुभयो कि जीवनमा सम्मान ,इमान्दारी र माया सबैभन्दा ठूलो सफलता हो। उहाँहरूको उपदेशले मेरो व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्यायो। जीवनलाई कसरी हेर्ने र कसरी चुनौतीको सामना गर्ने भन्ने कला नै मेरो लागि ठूलो उपहार बन्न पुग्यो। 

गुरुले मात्र जीवनलाई उज्यालो बनाउँछन्। जीवनमा अनेकौं गल्ती र पापबाट टाढा राख्छन।गुरु सिकाउनुहुन्छ कि असफलता अन्त्य होइन,नयाँ सुरुवात हो। उहाँको शिक्षाले मेरो मनमा भविष्यप्रति उत्साह र हिम्मत जगायो। गुरुहरूको माया र शिक्षा हाम्रो जीवनको साँचो आधार हो। जीवनका कठिन मोडमा उनीहरूको सम्झनाले हामीलाई अझै बलियो बनाउँछ। 

गुरुलाई सम्मान गर्नु हाम्रो धर्म हो। गुरुको योगदान अविस्मरणीय हुन्छ। उनीहरुले हामीलाई सधैं सत्मार्गतिर डोर्याएका हुन्छन् हाम्रो कमजोर पक्षलाई सुधार्न सहयोग गरेका हुन्छन।हामीले गुरुहरूको शिक्षा जीवनलाई सहज मार्गतर्फ डोर्याउने आधार सम्झेर पालना गर्नुपर्छ र अरुलाई पनि त्यो अमूल्य ज्ञान बाँड्नुपर्छ। गुरु र विद्यार्थीको त्यो अमूल्य सम्बन्ध हामीले जोगाउनुपर्छ। गुरुहरूको स्नेहले हामीलाई जीवनमा अगाडि बढ्न सधैँ प्रेरित गरिरहन्छ। 

वास्तवमा भन्नुपर्दा मलाई लाग्छ कि गुरु जीवनको उज्यालो हुन, सपनाको प्रकाश हुन। उनीहरुले केवल ज्ञान दिँदैनन जीवनलाई अर्थ दिन्छन। हामीले जीवनभरि गुरुको योगदानलाई उच्च सम्मान गर्नुपर्दछ। र उनीहरुले देखाएको बाटोमा डोरिनु पर्दछ। गुरुहरू बिना हाम्रो जीवन अध्यारो र दिशाहिन हुन्छ। त्यसैले गुरुको कदर गरौं। उनीहरूबाट सिक्न कहिल्यै नछोडौँ। गुरुको शिक्षाले हामीलाई मात्र होइन हाम्रो समाज र देशको भविष्य पनि उज्यालो बनाउन मद्दत पुग्दछ। तसर्थ गुरुलाई सम्मान गर्नु मात्र हाम्रो कर्तव्य होइन उहाँको शिक्षा र प्रेरणालाई जीवनभरमा जीवन्त राख्नु नै हाम्रो सफलताको कुञ्जी हो।

लेखक : मनिषा पन्त दार्चुला बहुमुखी क्याम्पस की बिद्यार्थी

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च