बैतडीका घरायसी परम्परागत पेसा सङ्कटमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बैतडीका घरायसी परम्परागत पेसा सङ्कटमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१८
  • सुन्नुहोस् 
168   
 बैतडीका घरायसी परम्परागत पेसा सङ्कटमा

बैतडी । सुदूरपश्चिमका पहाडी गाउँघरमा निगालोले बनेका सामग्रीहरू पुर्व कालदेखि चल्दै आएको परम्परागत पेसा सङ्कटमा पर्न थालेको छ । बाँस, निगालो, चोयाको उपयोगबाट बनाइने डोको, डालो, नाङ्लो जस्ता सामग्री निर्माण गर्ने दलित समुदायका सीप र श्रम अहिले उपयोगविहीन हुँदै गएका छन् ।

गाउँघरमा निगालोको स्रोत प्रशस्तै रहे पनि त्यसलाई उपयोग गर्ने जनशक्ति पलायन हुन थालेपछि परम्परागत पेसा सङ्कटमा पर्न थालेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ का हेमराज भट्टले भने, ‘‘गाउँमा निगालो छ, तर सीप प्रयोग गर्ने हात छैन । युवाशक्ति विदेशिएपछि स्रोत कुहिएर सडेको छ ।’’

सूर्नया गाउँपालिका–३ का ध्वजराम लुहारले जीवनको तीन दशक यही पेसामा बिताए । तर अहिले भारतको सहरतिर मजदुरी गर्न बाध्य छन् । ‘‘पहिला डोको बुनेर परिवार पालिन्थ्यो, अहिले त निगालो पनि जङ्गलमै सडिरहेको छ,’’ उनले भने ।

उनकै गाउँका नरेश चुनारा अहिले बैंगलोरमा छन् । ‘‘गाउँमा सीपको सम्मान छैन, काम छैन,’’ उनले भने, ‘‘गाउँका अधिकांश युवा भारत पलायन भएका छन् ।’’

स्थानीय सरकारको प्राथमिकतामा यी परम्परागत पेसा नपर्नु, सीपको हस्तान्तरण नहुनु र स्रोतको संरक्षणमा बेवास्ताले ग्रामीण जीवनशैली नै सङ्कटमा परेको दशरथचन्द नगरपालिका–२ देहिमाडौँका हजारी लावडको भनाइ छ । पाटन नगरपालिका–३ का धनिराम लुहार भन्छन्, ‘‘बाँझो बारी, सडेको निगालो, अनि रोजगारीको ग्यारेन्टी छैन । यस्तो अवस्थामा परम्परागत पेसा कसरी बच्ला ?’’

पर्यावरणीय दृष्टिकोणले समेत निगालोका सामग्रीहरू दिगो, पुनः प्रयोगयोग्य र प्लास्टिकको विकल्पका रूपमा उपयोगी मानिन्छन् । तर लोपोन्मुख सीप र बेवास्तित स्रोतले ग्रामीण अर्थतन्त्र मात्र होइन, सांस्कृतिक सम्पदामाथि समेत असर पार्न थालेको स्थानीयको चिन्ता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार