धनगढी । धनगढीमा श्रीमद्-हरिहर चातुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सव आयोजना हुने भएको छ। नमूना गुरुकुल स्थापनाको उद्देश्यसहित आयोजक सत्य सेवा प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी विस्तृत जानकारी गराइएको हो ।
असार २२ गतेदेखि कार्तिक १९ गतेसम्म श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम, धनगढी, कैलालीमा सञ्चालन हुने आयोजकले बताएका छन् । वैदिक संस्कार, संस्कृति र शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्य सहित सुदूरपश्चिमका लोक कलाको संरक्षणमा समेत सहयोग पुग्ने चतुर्मास अनुष्ठानका संकल्पकर्ता आचार्य सत्यराज अवस्थीले जानकारी दिए।
यस अनुष्ठानले सुदूरपश्चिममा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै संस्कारयुक्त समाज निर्माणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । विद्यालय स्तरीय विविध प्रतियोगिता र लागुपदार्थ दुर्व्यसनलाई निराकरण गर्न समेत सचेतना मुलक संवाद चलाउने संकल्पकर्ता आचार्य अवस्थीले बताए ।
चतुर्मास अनुष्ठानमा गौरा महोत्सव,तीज महोत्सब, कृष्ण जन्माष्टमी महोत्सव, नवरात्री बिशेष, दीपावली विशेषका कार्यक्रमहरु मुख्य रहेका छन्।
धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको शिवपुरी धर्मोत्सवलाई सफल बनाउन स्थानीयवासी, धार्मिक संघसंस्थाहरू र स्वयंसेवकहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्