राजनीति फोहरी खेल होइन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

राजनीति फोहरी खेल होइन

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१८
  • सुन्नुहोस् 
 
राजनीति फोहरी खेल होइन : Phulbari Khabar

काठमाडौँ। केही दिनअघिको एउटा अन्तर्वार्तामा मलाई सोधियो, विवेकशील पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाहहरूलगायत स्वतन्त्र उम्मेदवारहरूको हबिगत हेर्दा वैकल्पिक राजनीति संकट उन्मुख छ र नयाँ दलहरू आएर पनि केही नहुने रहेछ भन्ने देखियो नि है ?

Phulbari Khabar

अहिले पुराना दलहरूबाट आशा नरहेको र नयाँ दलहरू पनि असफल हुँदै गएका छन् भन्ने निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ। यही मौका र यही संक्रमण अवस्था निर्माण गरेर राजा ल्याउनेदेखि लिएर संघीयता खारेज गर्नेसम्म प्रयासहरू भइरहेका छन्।

तर यो सन्दर्भमा मेरो उत्तर र मेरो बुझाइ भने फरक छ। म भने वैकल्पिक राजनीतिलाई एकदमै फस्टाउँदै गएको देख्छु। सुरुमै भनौं, मैले वैकल्पिक राजनीतिमा सबै कुरा ठीक छ भनेर भनिरहेको छैन। तर जुन संकट उन्मुख छ, सकियो भन्ने भाष्य छ, त्यो म मान्न तयार छैन।

Phulbari Khabar

कांग्रेस र कम्युनिस्ट मिलेर सरकार बनाइयो भने आकाश खस्छ भनेर अस्ति जस्तो मात्र लाग्छ। राप्रपाका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई पालैपालो प्रधानमन्त्री बनाउने वा हिजो माओवादीलाई बारम्बार सत्तामा प¥याउने कांग्रेस र एमाले किन मिले भन्ने प्रश्नको सीधा उत्तर हो– कांग्रेस र एमाले संकटमा छन्। त्यो संकटको प्रमुख कारण भनेकै वैकल्पिक दलको उदय हो। विवेकशील पार्टीले एक दशकअघि रोपेको बिउ आज स्वतन्त्र उम्मेदवारको रूपमा होस् वा स्वतन्त्र पार्टीको रूपमा, प्रमुख दलहरूलाई चुनौती दिइरहेका छन्।

त्यसैले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरताको नाममा दुई दल उन्मुख प्रणालीतर्फ लैजान खोज्दैछन्। यही रणनीतिले पनि केही कुरा स्पष्ट पार्छ– कांग्रेस र एमाले आफैं संकटमा छन्। आज सबैभन्दा बढी कोही छटपटिएको छ भने त्यो कांग्रेस र एमालेका नेताहरू नै हुन्। त्यो छटपटाहट दोस्रो तहका नेताहरूमा झनै बढी देखिन्छ। त्यसैले कांग्रेस र एमालेको विकल्पको रूपमा स्वतन्त्र पार्टी विवेकशील पार्टी वा अन्य आउन सक्ने सशक्त वैकल्पिक विकल्पहरू प्रशस्तै छन्। त्यसैले आज यदि कसैको ग्राफ घटिरहेको छ भने त्यो वैकल्पिक शक्तिको होइन, त्यो कांग्रेस र एमालेकै हो।

२०६९ सालमा, कहिल्यै राजनीति नगरेका तर केही गर्छु भन्ने हुटहुटी बोकेका युवाहरू उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली अभियानमा जोडिए। त्यो बेला कांग्रेस, एमाले, माओवादीको विकल्प पनि हुन सक्ला र ? भन्ने कल्पना पनि गर्न गाह्रो थियो। ‘पोलिटिक्स इज् अ डर्टी गेम’ भन्ने भाष्य थियो। त्यसलाई उज्ज्वल थापाहरूले बदल्ने संकल्पसहित माइतीघरमा प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरे। हाम्रो सुरुवाती अभियानहरूमध्ये एउटा थियो—नेपाल खुला छ। कुनै नाम नसुनेको संगठन वा पार्टीले विज्ञप्ति निकालेर नेपाल बन्द गराउने प्रवृत्ति बढ्दो थियो। विवेकशील नेपालीले त्यति बेला एउटा सामान्य प्रश्न सोध्ने आँट ग‍¥यो— हाम्रो स्कुल, पसल, बाटो किन बन्द गर्ने ? यो गलत हो।

केही समय प्रश्न सोधेपछि, विवेकशील नेपालीले प्रश्न मात्र सोधेन, राजनीतिक समाधान पनि दियो। २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौंका चारवटा निर्वाचन क्षेत्रबाट ‘स्वतन्त्र’ उम्मेदवारी दिएर ‘लिटमस टेस्ट’समेत ग‍रयो। चुनौती छ तर सम्भव छ भन्ने सन्देश मतमार्फत पाएपछि विवेकशील युवाहरूले पार्टी नै स्थापना गरेर अघि बढे। सुसंस्कृत राजनीति हासिल गर्नको लागि केही टेक्नोक्र्याट युवाहरू र आफ्नो क्षेत्रमा नाम कमाएका व्यक्तिहरूलाई सामेल गराएर नयाँ वैकल्पिक पार्टी गठन भयो। भूकम्पमा गरेको कामबाट विवेकशील नेपालीले डेलिभरी पोलिटिक्सको उदाहरण प्रस्तुत ग‍¥यो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा रञ्जु दर्शनालाई मेयरको उम्मेदवार बनाउँदै नेपाली राजनीतिमा युवा र ताजा अनुहारको प्रवेश गराएको थियो, जसले युवाहरूमा राजनीतिक चेतना भरेको थियो।

आज त्यही जगमा नयाँ पार्टीहरूको उदय भइरहेको छ, नयाँ–नयाँ व्यक्तिहरू राजनीतिमा आइरहेका छन्। यो आफैंमा एउटा सफलता हो। पोलिटिक्स इज् अ डर्टी गेम भन्ने भाष्य चिर्दै राजनीति भनेको युवाहरूले गर्ने हो भन्ने सकारात्मक भाष्य स्थापित हुनु नै नेपाली राजनीतिको भविष्य उज्ज्वल छ भन्ने आशाको किरण हो। यसले नयाँलाई त हाइवे नै बनाइदिएको छ तर साथै पुरानै पार्टीहरूलाई सुध्रिन दबाब दिइरहेको छ। नयाँ पार्टीहरूको उदयले नेतृत्व हस्तान्तरण गर्न पनि दबाब दिइरहेको छ। नयाँ व्यक्तिहरूको उदय र नयाँ दलहरूको चुनौतीलाई हामीले नेपाली राजनीतिलाई सफा गर्ने प्रक्रियाको रूपमा बुझ्न जरुरी छ।

मलाई थाहा छैन यी नयाँ नेताहरूले र दलहरूले कति बनाउन सक्छन्। तर म के कुरामा ठोकुवा गर्न सक्छु भने—उनीहरूले बिगार्ने छैनन्। हिजो विवेकशीलले रोपेको बिउ आज स्वतन्त्र पार्टीका रूपमा, स्वतन्त्र उम्मेदवारका रूपमा, वा सुसंस्कृत राजनीति भन्दै संघर्षरत विवेकशीलको नाममा आफ्ना राजनीतिक प्रयोग गरिरहेका छन्। राजनीतिशास्त्र आफैंमा एक विज्ञान हो, त्यसैले प्रयोग गर्नु स्वाभाविक हो। आज लोकतन्त्रको व्याख्या गर्ने अमेरिका होस् वा भारत, त्यहाँ पनि नयाँ नेतृत्व आएर राजनीतिक प्रयोग गरिरहेका छन्। प्रयोगले व्यवस्था र प्रणालीलाई बलियो बनाउँछ। स्वतन्त्र, स्वतन्त्र पार्टी वा विवेकशील पार्टीले अहिले जे गरिरहेका छन, यसले हाम्रो राजनीति र लोकतन्त्रलाई बलियो बनाउँदैछ। राजनीतिमा नयाँ मानिसहरूलाई आकर्षण गर्नु र आशा जगाउनु लोकतन्त्रको लागि सधैं सकारात्मक कुरा हो।

नयाँ दलहरू अस्थिर छन्, उनीहरू व्यवस्थाप्रति स्पष्ट छैनन् भन्ने भनाइ चलिरहन्छ। तर मेरो तर्क के हो भने—कांग्रेसका भावी सभापति भनिएका शेखर कोइराला वा शशांक कोइरालाहरूसमेत हिन्दु राष्ट्र हुनुपर्छ भनेर माग उठाइरहेका छन्। कांग्रेसको पार्टी पंक्तिले नै प्रदेश र धर्मका विषयमा प्रश्न उठाइरहेका छन्। ओली आफंै संघीयतालाई कमजोर पार्ने भाषण दिइरहेका हुन्छन्। अस्थिरता नयाँ पार्टीहरू स्पष्ट नहुनुले होइन, पुराना पार्टीका प्रभावशाली नेताहरू स्पष्ट नहुनुले भएको हो। यदि ७०–८० वर्ष पुराना पार्टीहरू नै स्पष्ट छैनन् भने, नयाँ दललाई मात्र दोष दिएर अस्थिरता भन्न मिल्दैन। तर यही भनेर नयाँले पनि छुट भने पाउँदैनन्। नयाँ पार्टीहरूले यही मौकामा आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट बनाउने, संगठन र प्रशिक्षण गर्ने, स्पष्ट भिजन दिने र २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न आवश्यक छ। त्यसका लागि नयाँ दलहरू ढिलोचाँडो एकै ठाउँमा आउनैपर्छ। तर त्यसअघि वैचारिक स्पष्टता ल्याउनु जरुरी छ।

जसरी २०४७ सालको आन्दोलनपछि कांग्रेस र एमाले उदाए, त्यसरी नै कांग्रेस र एमालेको विकल्पमा दुईवटा नयाँ दल उदाउन सक्छन्। त्यो सम्भावना देखिन्छ। राजनीतिक दृष्टिले दुई दल उदाउनु राम्रो हो तर निर्वाचनको दृष्टिले भने नयाँ पार्टी र नेताहरूले कस्तो रणनीति बनाउँछन् भन्ने कुराले उनीहरूले जित्ने सिट निर्धारण गर्नेछ। मेरो ठोकुवा यही हो—रणनीतिक रूपमा सके एउटै पार्टी, एउटै चुनाव चिह्न वा एउटै निर्वाचन क्षेत्रमा एक सशक्त वैकल्पिक उम्मेदवार हुने हो भने, २०८४ मा वैकल्पिक राजनीतिलाई प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको बहुमत हुनेछ।

म नयाँ राजनीति र नयाँ नेतृत्वको कुरा किन पनि गरिरहेको छु भने, हरेक देशमा स्वतन्त्रता र लोकतन्त्रको आन्दोलनपछि त्यो आन्दोलन र उपलब्धिलाई संस्थागत गर्न नेतृत्व आवश्यक पर्छ। त्यो हिजो नेहरूका बेलामा होस् वा नेल्सन मण्डेलाका बेलामा, नेताहरूले आन्दोलनपछि आफै नेतृत्वमा आएर आन्दोलनलाई र त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेका थिए। त्यसको केही समयपछि नेतृत्वमा टेक्नोक्र्याटहरू आएर पूर्वाधार निर्माण गरे र आर्थिक विकासको जग बसाले। इन्जिनियर, वकिल, अर्थशास्त्रीलगायत विषयविज्ञहरूले देशको नेतृत्व गरे। यही चरणमा देशहरूले विकासको गति लिएका थिए। सिंगापुर वा भारत वा चीनका विगतका नेतृत्वहरू हेर्ने हो भने त्यो चित्र स्पष्ट देखिन्छ।

त्यसपछि, संसारभर हेर्दा यो चरण पार गरेपछि उद्यमी र व्यापारीहरू नेतृत्वमा आउँछन् र आर्थिक गतिविधिलाई प्राथमिकता दिन्छन्। अहिले संसारभर चलिरहेको ट्रेड वार यही चरणको नेतृत्वको कारण हो। हामी अहिले दोस्रो चरणतर्फ प्रवेश गर्दैछौं। त्यसैले पनि, हामीले टेक्नोक्र्याटहरूलाई नेतृत्वमा ल्याउनुपर्छ र विकासलाई गति दिनुपर्छ। त्यसका लागि पनि वैकल्पिक दलहरू आवश्यक छन्। र म बिस्तारै त्यो माहोल निर्माण हुँदै गएको देख्छु। राजनीतिमा टेक्नोक्र्याटहरूलाई ल्याउन वैकल्पिक राजनीति अपरिहार्य छ।

साथै राजनीतिमा सही र गलत त हुन्छ नै, तर त्योभन्दा पनि नागरिकले कसरी बुझ्छन् भन्ने कुरा—इम्प्रेसन—महŒवपूर्ण हुन्छ। नागरिकसँगको संवाद महŒवपूर्ण हुन्छ। अहिलेका पुराना दलका नेतृत्व र नागरिकबीच विश्वास र संवादको वातावरण छैन। त्यो विश्वास र संवाद कायम गर्न पनि नयाँ नेतृत्व र वैकल्पिक राजनीति आवश्यक छ। र मलाई लाग्छ त्यो काम नयाँ नेतृत्वले गर्दैछ, नयाँ पार्टीहरूले गर्दैछन्। नयाँ पार्टीहरूमा देखिएका समस्या पनि चाँडै समाधान हुनेछन् र वैकल्पिक राजनीतिले आफ्नो बाटो समात्नेछ।

अस्ति रञ्जु दर्शनलाई अगाडि बढाउन अघि बढेको पुस्ता, हिजो बालेन र स्वर्णिम वाग्लेहरूलाई जिताएको पुस्ता र आज संसद्मा केही नेताहरूलाई देख्दा मेरो नेता भनेर सामाजिक सञ्जालमा सेयर गर्ने पुस्ता—यी सबैका लागि राजनीति ‘फोहोरी खेल’ होइन। उनीहरूले समस्या नेतामा हो भन्ने बुझिसकेका छन्। विगत एक दशकमा पोलिटिक्स इज् नट अ डर्टी गेम भन्ने सोच स्थापित हुनु नै सफलता हो। आज युवामा राजनीतिप्रतिको चासो जाग्नु निकै आशाको कुरा हो। मलाई लाग्छ, यो आउँदो दशक नयाँ नेतृत्वले, वैकल्पिक राजनीतिले हाँक्नेछ। वैकल्पिक राजनीतिको भविष्य उज्ज्वल छ। नेपालको भविष्य उज्ज्वल छ। साभार - अन्नपूर्ण (मिलन पाण्डे)

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च