धनगढी । कैलालीको धनगढीमा अटिजम सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल धनगढीले शुक्रवार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कैलालीमा रहेका सक्रिय पत्रकारहरू,अटिजम भएका बालबालिकाहरू र अपाङ्गता भएका बालबालिकाहरू सँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरू संग अटिजम सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय उप प्राध्यापक डा. यज्ञ राज पाण्डेले अटिजम अर्थात् अटिजम स्पेक्ट्रम डिसअडरको परिचय ,लक्षणहरू र अटिजम पहिचानका आधारबारे प्रकाश पारेका थिए ।
डा. पाण्डेले हालसम्म सार्वजनिक गरिएको विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा ३५२ जना बालबालिकामा अटिजमको समस्या देखिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको सबैभन्दा धेरै कैलालीमा ७१ जना पुरुष र ८१ जना महिला गरी कुल १५२ जना बालबालिकामा अटिजमको समस्या देखिएका छ भने अछाममा १० जना पुरुष र १९ जना महिला गरी कुल २९, डोटीमा ७ जना पुरुष र २० जना महिला गरी कुल २७, डडेल्धुरामा १० जना पुरुष र १० जना महिला गरी कुल २०, बैतडीमा १४ जना पुरुष र १५ जना महिला गरी कुल २९, दार्चुलामा ४ जना पुरुष र ३ जना महिला गरी कुल ७, बझाङमा ९ जना पुरुष र १६ जना महिला गरी कुल २५, बाजुरामा ५ जना पुरुष र १३ जना महिला गरी कुल १८ र कञ्चनपुरमा २३ जना पुरुष र २२ जना महिला गरी कुल ४५ जना बालबालिकामा अटिजमको समस्या देखिएको हो ।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले अटिजम भएका बालबालिकाको लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सरोकार निकाय र विभिन्न दातृ संघसस्था र राज्य संग मिलेर सहकार्य गर्ने बताउँदै ,अटिजम भएका बालबालिका प्रतिको बुझाई स्पष्ट पारेर पैरवी गर्ने उद्देश्यका साथ कैलालीका सक्रिय पत्रकारहरू, अटिजम भएका बालबालिकाहरू र अपाङ्गता भएका बालबालिकाहरू सँग सरोकार राख्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरू संग अन्तरक्रिया गरेको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले बताए ।
समाजमा रहेका कठिनाइ तथा यस्ता जटिल खालका समस्याहरू उजागर गरी स्पष्ट पार्दै जनचेतना फैलाउने काममा पत्रकारहरू प्रतिबद्ध रहेको पत्रकार नेपाल महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।