गठबन्धनमा ठूलो घटनाको खतरा छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा ठूलो घटनाहरू हुने खतरा देखिएको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सञ्चारकर्मीसँग उनले गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको जिकिर गरे । सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै लेखकले यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए ।
गठबन्धनका नेता अत्ता अत्ताल्लिएको भन्दै उनले त्यसले ठूलै घटना हुने संकेत गरेको बताए । नेकपा एमाले सबैभन्दा धेरै विचलित भएको लेखकको टिप्पणी छ ।
‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । मैले संसदभित्र जुन रूप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ । त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ’, उनले भने’ ‘अहिले सरकारमा भएका दलका केही नेता अत्यन्तै आत्तिएका छन् । उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’
कांग्रेस अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको पनि उनले बताए ।
लेखकले थपे, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समीकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ ।