कैलाली ५ बाट गठबन्धनका उम्मेदवारको प्रतिवद्धतापत्र सार्वजनिक (पुर्ण पाठसहित)


धनगढी, ११ कार्तिक/ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले आफ्नो संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त तथा प्रदेश सभा क्षेत्र १ का उम्मेदवार रमेशसिंह धामी र प्रदेश सभा २ का उम्मेदवार प्रकाशबहादुर देउवाले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कैलाली क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य, पर्यटन र खेलकुदको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता तीनै जना उम्मेदवारले गरेका छन् । यो क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको अव्यवस्थित सहरीकरण, डुवान, नदी कटान र सार्वजनिक जमिन अतिक्रमणको समस्या समाधान गर्नुका साथै दीर्घकालीन योजनामार्फत् विकासलाई अगाडि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त र प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा र रमेश धामीले डुबान समस्याको समाधान गर्ने, कटान रोक्न तटबन्धन गर्ने, स्तारीय सडक सञ्जालको विकास गर्ने, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध भएर काम गर्ने घोषणा गरेका छन्। कैलाली ५ लाई हरित सहरको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारले गरेका छन् । त्यस्तै उर्मा, फुलबारी र कैलारी गाउँपालिकामा २५÷२५ शय्याको अस्पताल तीन वर्षभित्र निर्माण गर्ने, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने तथा युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिवद्धता छ ।
गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्तले आफूहरुले चुनाव जितेपछि घोषणापत्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । ‘यो चुनावका लागि ल्याइएको प्रतिवद्धतापत्रमात्र होइन, निर्वाचित भएर गएपछि हामी यसलाई कार्यान्वयनमा लैजाने छौँ ।
कतिपय योजनाहरुका लागि संघमा पहल गरिनेछ ।’ उनले भने, ‘नदी कटान नियन्त्रण, व्यवस्थित सहरीकरण, योजनावद्ध विकास हाम्रो प्राथमिकता रहने छ ।’ किसानलाई मल, सिँचाइ, बीउविजन सहज रुपमा उपलब्ध गराउने प्रतिवद्धता पनि गठबन्धनका उम्मेदवारले गरेका छन् ।
यस्तो छ प्रतिबद्धताको पुर्ण पाठ
अब हामी समुन्नतीको यात्रामा
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ तथा युवा साथीहरू
हार्दिक जय नेपाल । अभिवादन । नमस्कार ।
आउँदै गरेको महान तिहार तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा हृदयदेखिको शुभकामना । यससंगै आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी भएर नेपाली जनताको दशकौ लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थालाई बलियो बनाउँदै तपाईंहाम्रो समृद्धिको सपना साकार पार्न हार्दिक आह्वान गर्दछौं ।
जनताको निर्णायक मतबाट आगामी पाँच वर्षका लागि जनमुखी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्माण हुने यस अतिमहत्वपूर्ण अवसरमा हामी पाँच दलीय गठबन्धन दलका साझा उम्मेदवारका रुपमा कैलाली क्षेत्र नम्बर ५ र प्रदेश सभा निर्वाचन क्षेत्र (क) र (ख) को समुन्नतीको स्पष्ट खाकासहित यहाँहरूको घरदैलोमा प्रस्तुत भएका छौं ।
यस घडिमा हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय राज्य व्यवस्था, मुलुकको राष्ट्रियता र स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता तथा नागरिक अधिकारका लागि दशकौदेखि भएगरेका आन्दोलन, जनक्रान्ति, जनयुद्ध तथा संघर्षमा जीवनको आहुती दिनुहुने प्रातःस्मरणीय महान नेपाली सपुतहरूमा अन्तरआत्मादेखि सम्मान टक्राउँदछौं । महान सहिदहरूको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल र नेपालीको सुखशान्ति तथा समृद्धिको महायज्ञमा चरु थप्नका लागि यहाँहरू सम्पूर्णमा हार्दिक आह्वान गर्दछौं ।
आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
राष्ट्रिय राजनीति तथा मुलुकको आवश्यकताका आधारमा अहिले हामी पाँच दलीय गठबन्धनमा छौं । गठबन्धनको यो यात्रा राजनीतिक स्थिरताका लागि हो । स्थिर सरकारका लागि हो । मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि हो । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षाका लागि हो । र, नेपाल र नेपालीको सुखशान्ति र समृद्धिको सपना साकार पार्नका लागि हो । राजनीतिक द्वन्द्वका कारण हाम्रा अनेकौ वर्ष र दशक खेर गएको तितो अनुभवबाट पाठ सिकेर हामीले स्पष्ट सोच र दृष्टिकोणका लागि निर्माण गरेको यो राजनीतिक गठबन्धनको विजयले नै तपाईंहामी सबैका आकांक्षा, चाहना र सपनाको सम्बोधन हुनेछन् । यिनै दृष्टिकोणका साथ हामी कैलाली क्षेत्र नम्बर ५ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरू यहाँहरूको सामु उभिएका छौं ।
आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
कैलाली क्षेत्र नम्बर ५ यो प्रदेशकै राजनीतिक तथा आर्थिक केन्द्र हो । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीसहितको यो क्षेत्रलाई तपाईंहरू सबैको साथ, समर्थन र सहयोगबाट समुन्नत र नमुना क्षेत्रका रुपमा विकास गर्न हामी दृढसंकल्पित छौं । वितेका पाँच वर्षको अवधिमा अनेक चुनौती र कठिनाई हुँदाहुँदै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रयासहरू निकै उपलब्धीमुलक छन् । विकासको जग कोरिएको छ । अब हामी समृद्धिको यात्रामा अघि बढ्नै पर्दछ । र, यो यात्रालाई गन्तव्यतिर डोराउन पाँच दलीय गठबन्धन मात्रै सक्षम छ भन्ने वितेका पाँच वर्षमा भएगरेका राजनीतिक घटना, परिघटनाले पुष्टि गरिसकेको यहाँहरूले नै अनुभव गर्नुभएको छ । दशकौंसम्म राजनीतिक द्वन्द्व, घातप्रतिघात, छलकपटको दुस्चक्रलाई अब दोहोरिन नदिने संकल्पका साथ हामी दीर्घकालीन र स्पष्ट सोच तथा दृष्टिकोणका साथ समृद्धिको यात्रामा अघि बढ्दैछौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन तपाईंहामी सबैका लागि निर्णायक अवसर हो । नेपाल र नेपाली समाजलाई कस्तो बनाउने ? भन्ने यहाँहरूको अमूल्य मतले नै निर्णय गर्ने छ । हामी कैलाली क्षेत्र नम्बर ५ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरू यहाँहरूको अमुल्य मत, साथ र समर्थनको लागि बिनम्रतापूर्वक अनुरोध गर्दछौं ।
कैलाली ५ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका रुपमा आगामी पाँच वर्ष हामी के गर्नेछौ ?
आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मुख्य कार्यभार भनेको देशमा सुशासन, शान्तिसुव्यवस्था तथा समृद्धिका लागि आवश्यक नीति, ऐनकानुन बनाउने र जनमुखी सरकार गठन गर्ने नै हो । नेपाली जनताको सार्वभौमिकता व्यक्त हुने सर्वोच्च थलो संसद (प्रतिनिधि सभा तथा प्रदेश सभा) लाई नेपाली जनताको आवाज, भावना, चाहना र आवश्यकताहरू सम्बोधन हुने अझ सुदृढ संस्थाका रुपमा विकास गर्न हामी प्रतिवद्ध छौं । नेपाली समाजका सबै समुदाय, जातजाती, वर्ग, क्षेत्र, वर्ण, धार्मिक र सांस्कृतिक समुह सबैका लागि सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न तदनुरुपका नीति, ऐनकानुन निर्माणमा हामी स्पष्ट छौं । हामी स्पष्ट छौं– आम जनताको जीवनस्तरमा सुधार भएन, सहज भएन र समृद्धि प्राप्त भएन भने जस्तोसुकै उन्नतभन्दा उन्नत राज्य व्यवस्था पनि सफल हुँदैन । यस क्षेत्रका जनताको चाहना, आवाज र आकांक्षाको सम्बोधनका लागि हामी आगामी पाँच वर्ष यहाँहरूको प्रतिनिधिकका रुपमा संघीय तथा प्रदेश संसदमा अधिकतम रुपमा प्रस्तुत हुनेछौं ।
१. प्रतिनिधि सभा तथा प्रदेश सभाबाट आम जनताको जनजीविका तथा समृद्धिको अधिकारसंग जोडिएका नीति तथा ऐनकानुन निर्माणमा हामी केन्द्रीत हुनेछौं ।
२. कैलाली क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य तथा पर्यटन र खेलकुद केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन र व्यवस्थित योजना निर्माण गरी तीनै तहका सरकारहरूसंगको अर्थपूर्ण समन्वय तथा सहकार्यमा अघि बढ्नेमा हामी स्पष्ट छौं ।
३. यो क्षेत्रको प्रमुख समस्याका रुपमा अव्यवस्थित शहरीकरण तथा बसोबासका साथै डुबान, अतिक्रमण र नदीकटान रहेको छ । हामी सम्पूर्ण क्षेत्रको एकीकृत दीर्घकालीन योजनामार्फत यस क्षेत्रको योजनावद्ध विकासका लागि कटिवद्ध छौं ।
४.संघीय तथा प्रदेश सरकारका साथै विश्व बैंक, एसियाली बिकास बैक लगायतका दातृ निकायहरूको समन्वयमा पुरै क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको सडक सञ्जाल विस्तार हाम्रो प्राथमिकता हुनेछ ।
५. हामी कैलाली ५ लाई हरित शहरका रुपमा विकास गर्न प्रतिवद्ध छौं । यहाँ रहेको बनजंगलको दीर्घकालीन व्यवस्थापन गर्दै बनलाई यस क्षेत्रका जनताको आर्थिक समृद्धिको आधार बनाउने गरी नीति र कार्यक्रम लागू गरिने छ ।
६. कैलाली ५ का सबै २१ वडामा पाँच वर्षभित्र खानेपानीको सुविधा, विद्युतीकरण, हरेक वडामा नमुना सामुदायिक विद्यालय, क र ख प्रदेशमा प्राविधिक शिक्षालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सबै वडामा बालउद्यान र बाल मनोरन्जनस्थल, कम्तिमा पाँच ठाउँमा आधुनिक पार्क, अत्याधुनिक वसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, प्रत्येक वडामा विशेषज्ञ सेवासहितको स्वास्थ्य केन्द्र, प्रत्येक वडा, सार्वजनिक स्थल, बसपार्र्कमा सार्वजनिक सौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेट व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ ।
७. कैलाली ५ मा जग्गाबिहीन दलित, सुकुम्बासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीलाई एक वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउन हामी प्रतिवद्ध छौं ।
८. धनगढी उपमहानगरपालिकाका वडा १३, ३, २, ९, १४, १८ र १९ हुँदै बग्ने मोहना नदी, वडा नम्बर १६, १७, ७ र १४ हुँदै बग्ने खुटिया नदी, वडा नम्बर १७ र १६ भएर बग्ने शिवगंगा नदी र कैलारी गाउँपालिका वडा ६ र ९ मा देविगंजदेखि घुराही नदी हँुदै वडा ६ भगतपुरसम्म आगामी पाँच वर्षभित्र तटबन्ध निर्माण गरिने छ ।
९. उर्मा र फूलबारी तथा कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को केन्द्रमा आगामी तीन वर्षभित्र २५ सैयाको सुविधासम्पन्न अस्पताल निर्माण हाम्रो प्राथमिकता हुने छ ।
१०. नेतुवा ताल, बेहडाबाबा, जाखौरताल, शिवपुरीधाम, कनरी पार्क, धुधुवा ताल र कोइलहीताललाई समेटेर एकीकृत बृहत्तर पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नेमा हामी कटिवद्ध छौं ।
११. रिङरोड तथा हुलाकी सडक र सहरी सघन सडकहरूको निर्माण पुरा गरिने छ ।
१२. धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक टर्मिनलसहितकोे बसपार्क निर्माण र वडा १९ मा बहुउद्देश्यीय कभर्डहल निर्माण हाम्रो प्राथमिकता हुनेछ ।
१३. यस क्षेत्रका कृषियोग्य जमिनको खण्डिकरण हुन नदिने नीतिसहित आवश्यकताअनुसार कृषि तथा पशुपालन पकेट क्षेत्र विस्तारमा हाम्रो जोड रहने छ ।
१४. धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि ठोस पहल हुनेछ ।
१५. युवाहरूलाई रोजगारीमा जोड्न संघीय तथा प्रदेश सरकारका साथै स्थानीय सरकारसंग समन्वय गरी युवा स्वरोजगार कोषको अधिकतम उपयोग गर्दै युवा स्वरोजगार सिर्जनामा हामी अनुर्जनदृष्टिसहित प्रतिवद्ध छौं ।
१६ लागू पदार्थ दुव्र्यसनमा परेका युवा तथा बालबालिकालाई कुलतबाट जोगाउँदै योग्य र कर्मठ नागरिकका रुपमा रुपान्तरण गर्न पुनस्र्थापना केन्द्र विस्तार गरिने छ ।
१७. दलित अल्पसंख्यक, विपन्न समुदायको आर्थिक सुधारका लागि ठोस नीति र कार्यक्रम बनाइने छ ।
१८. फूलबारी २५ घरदेखि राजीपुरसम्मको सडक स्तरोन्नती सहित कालोपत्रे गरिने छ । बेनौलीदेखि गदरिया वडा नम्बर ९ जाने सडकमा पक्की पुल, हसुलियादेखि मसुरिया सम्मको सडकको स्तरोन्नती, सुर्मीदेखि बनकट्टा सडकको झलारीमा पुल, बेनौली सडकको उर्मीदेखि सिमरानासम्मको सडक स्तरोन्नती, कोहिली स्कुलदेखि बनकन्दरी हुँदै वडा नम्बर ८ जोडने सडक निर्माण, घुराहा र घुरही कोहिलयी नदीमा पुल, २५ घर बसपार्कदेखि टाउन सम्म ढल निकास सहितको सडक कालोपत्रे, वडा नम्बर १९ को रिङरोडको स्तरोन्नती सहित कालोपत्रे, डमौलिया गाउँ जाने शिवगंगा नदीमा पक्की पुल, बेडाबाबादेखि डमैलिया जाने सुरीनालामा पक्कीपुल निर्माण हाम्रा प्राथमिकता हुनेछन् ।
१९. धनगढी उपमहानगरपालिका वडा नम्बर २ को फोहरमैला प्रशोधन केन्द्र, वडा ७ को प्रस्तावित ल्याण्डफिल साइटको डिपिआर अनुसारको कार्य अगाडी बढाउने र वडा १४, १८ र १९ ल्याण्डपुलिङ योजना लागू गरिने छ ।
आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
यी हामीले आगामी पाँच वर्षभित्र अनिवार्य रुपमा पुरा गर्ने केही प्रमुख योजना र कार्यक्रम हुन् । प्रमुख सवाल भनेको यहाँका जनताको सुखशान्ति तथा समृद्धिको नै हो । हामीले धेरै वर्ष र दशक अनेकौ झण्झटमा गुमाइसकेका छौं । अब हामीलाई समय गुमाउने छुट छैन । हामी यहाँहरूको अमूल्य मत, साथ र समर्थनको लागि यहाँहरूका अघि याचना गरिरहँदा एउटै कुरा भन्न चाहन्छौं– हामी यहाँहरूको मत खेर जान दिने छैनौ । हाम्रा कार्य र व्यवहारले यहाँहरूको शीर निहुरिन दिने छैनौ । यस क्षेत्रका आम जनताको सम्मान र समृद्धिलाई एकलव्य भावका साथ लक्ष्य बनाएर हामी यहाँहरू सामु आएका छौं । र, यहाँहरूले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यमा डिल्लीराज पन्त तथा प्रदेश सभा सदस्य (क) मा रमेश धामी र प्रदेश सभा सदस्य (ख) मा प्रकाश बहादुर देउवालाई अमुल्य मत सहित विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।
धन्यवाद
जय नेपाल, अभिवादन, नमस्कार ।
विनित
लोकतान्त्रिक बाम गठबन्धन दल
संयुक्त चुनाव प्रचार प्रसार समिति
कैलाली–५