अत्तरियास्थित एक पसलबाट नक्कली नोट भेटियो

अत्तरिया, ३० जेठ/कैलालीको अत्तरिया बजारमा नक्कली नोटको कारोबार भएको पाइएको छ । अत्तरियास्थित ईलाका प्रहरी कार्यालय मालाखेती अगाडी रहेको एक किराना पसलमा नक्कली एक हजारको नेपाली नोटको कारोबार भएको भेटिएको हो ।
न्यू डिके ट्रेड एण्ड सप्लायर्समा उक्त नक्कली नोट भेटिएको भएपनि कता बाट आयो भन्ने पत्ता लागेको छैन । सो पसलमा काम गर्ने सुरेन्द्र भट्टले पानी बेच्ने गाडीलाई पानी खरिद गरेको पैसा दिदाँ नक्कली नोट भेटिएको थियो ।
तर, भट्टले भने उक्त नोट ग्राहक बाटै सोमबार बिहान आएको बताएका छन । ‘बिहानदेखि ३÷४ ग्राहक आएका थिए । उनीहरुबाटै यो नोट आएको जस्तो लागेको छ’ उनले भने । उक्त किराना पसलमा सिसिटिभि क्यामेरा जडान गरिएको छ ।
उता इलाका प्रहरी कार्यालय मालाखेतीले भने नक्कली नोट भेटिएको बारेमा कुनै जानकारी नआएको जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रबिन्द्र पाण्डेले नक्कली नोट भेटिएको बारेमा कुनै जानकारी नआएको बताए । उनले जानकारी आएको भए आफूहरुले मुचुल्का लिने गरेको बताए ।