डिभोटी–पिपल चौतारा सडकखण्ड कालोपत्रे सुरु

धनगढी, २१ चैत/धनगढीको होटेल डिभोटी–पिपल चौतारा सडक कालोपत्रे सुरु भएको छ । ८७० मिटर सो सडक कालोपत्रेको काम सुरु भएको हो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सडक कालोपत्रेको काम सुरु भएको बताए । एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजाना अन्तर्गत धनगढीमा १०.७० किलोमिटर सडक कालोपत्रे हुने चरणमा रहेको नगर प्रमुख नृपबहादुर वडले बताए । यसपछि सहिद गेटदेखि क्याम्पस चोकसम्मको सडक कालोपत्रे हुने नगर प्रमुख वडले बताए । ‘यो बैकल्पिक सडक निर्माण भएसंगै ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको काम अगाडि बढ्छ । उता कलवरी चर्चदेखि बिधुत कार्यालयसम्मको सडकको काम भइरहेको छ’ प्रमुख वडले भने, ‘निर्माण कम्पनी लगायतसंग कुरा भइरहेको छ । जेठ मसान्तसम्म १०.७० किलोमिटर सडकको काम सम्पन्न गर्छौ भनेर प्रतिवद्धता जनाउनुभएको छ हामी पनि निरन्तर अनुगमन, अवलोकन, दवाल दिइरहेका छौ ।’ उनले भने, ‘लगत्तै फोहोरमैला व्यवस्थापन लगायत ११ किलोमिटर सडकको टेण्डर निकाल्ने प्रक्रियामा छौं ।’
वडा नम्बर २ को चर्चसम्मको २.७ किलोमिटर सडक, ७ सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक, ३.६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, १.१५ किलोमिटरको हसनपुर सडक र ४३० मिटरको मालपोत सडकको काम भइरहेको छ ।