चुनावी अभियान लिएर गाउँ पस्दै कांग्रेस,जनताको गुनासो सुन्ने

काठमाडौं,२५ फागुन। सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ ।
अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने प्रवक्ता डा। प्रकाशशरण महतले बताए । बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा। महतले भने, ‘विपक्षीहरुले राष्ट्रिय मुद्धाहरुमा जति पनि भ्रम छरेका छन्, त्यसलाई पनि चिर्ने उद्देश्य छ ।’
उनका अनुसार कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारण पनि जनतालाई सुसूचित गरिनेछ ।
‘घर घर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको अभियानका लागि केन्द्रीय सदस्यहरु खटाइएको छ । भंग गरिएका १० भ्रातृ संस्थामा तदर्थ समिति छिट्टै गठन गरी निर्वाचनमा परिचालन गरिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
कार्यसमिति अपूर्ण रहेका जिल्लामा संगठनलाई पूर्णता प्रदान गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले परिपत्र गरिसकेका छन् । पार्टी कमिटीहरु र भ्रातृ संस्थालाई पूर्णता दिने सीमा चैत १५ तोकिएको छ । नेताहरका अनुसार भ्रातृ संस्थाको केन्द्रमा नयाँ कार्यसमिति बनाउने छ भने जिल्लामा पुरानै कार्यसमिति व्यूँताउने तयारी छ ।
जनताको गुनासो सुन्ने
अभियानका क्रममा स्थानीय तहको पहिलो कार्यकालको समीक्षा पनि गरिने कांग्रेसले बताएको छ । त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारवीच देखिएका समस्या र त्यसको निराकरणबारे सुझाव संकलन गरिने छ ।
अभियानमा कांग्रेस आफ्ना कुरा सुनाउन मात्रै जनताकहाँ नजाने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । भन्छन्, जनताका समस्या सुन्छौं, हरेक प्रश्नको जवाफ खोज्छौं ।’
तालमेलबारे मौन, एमसीसीलाई मुद्दा बनाउने
कांग्रेसलाई चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको दबाव छ । कांग्रेसमा भने स्थानीय चुनावमा तालमेल गर्न नहुने मत बढी छ । तर एक महिने अभियानको क्रममा चुनावी तालमेलबारे कांग्रेस मौन बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिले चुनावी तालेमलबारे कुनै निर्णय नगरिसकेको भन्न्दै उपसभापति खड्काले भने, ‘चुनावमा तालमेल गर्छ कि गर्दैन भनेर हामीले निर्णय गरेका छैनौं । एक महिने अभियानमा पनि एजेण्डा बन्दैन ।’
संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई भने मुद्दा बनाउने भएको छ ।
एमसीसी नेपालको आवश्यकता र हितमा रहेको भन्दै प्रवक्ता डा. महतले भने, ‘एमसीसीबारे अत्यन्त नकारात्मक प्रचार गरिएको छ, भ्रम फैलाइएको छ । त्यसलाई चिर्छौं ।’
घोषणा पत्र आफैं बनाउनुपर्ने
कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र तयार पार्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने भएको छ । पार्टीको उम्मेदवार विजयी भएमा पाँच वर्षमा गर्ने कामको योजनासहित हरेक स्थानीय तहको कमिटीले चुनावी घोषणा पत्र बनाउनुपर्ने समाचार हामीले अनलाइर्नखबर डटकमबाट आभार गरेका हौँ।