डलरको अवैध कारोबार : चार जनाविरुद्ध मुद्धा, साढे ३७ करोडको माग दाबी

धनगढी, ११ माघ/राजश्व अनुसन्धान विभागले अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपियाँको माग दाबीसहित मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
उनीहरूले विभिन्न बैंक खाताबाट ३७ करोड ६४ लाख ८९६ रुपैयाँ बराबर हुन आउने ३१ लाख २७ हजार ८९६ अमेरिकी डलर अवैध रूपमा निर्यात गरेको पुष्टी भएको विभागले जनाएको छ ।
प्रतिवादीहरुले मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स मार्फत विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।
अभियुक्तहरुलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार बिगो जफत गरी सजायको माग दाबी गरिएको छ ।