घोलतडागाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

धनगढी, १८ पुस/डोटीको दिपायल सिलगढी नगरपालिका–५, घोलतडा गाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।
घोलतडाँडा गाउँ जिल्लाकै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको बताइएको छ ।
बस्तीका ७८ घरधुरीमा शौचालय निर्माण र मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएको वडाध्यक्ष मदन भण्डारीले बताए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा उक्त गाउँलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताए ।
केही महिनाअघि ‘एक घर एक धारा’ निर्माण गरेर पानीमा शुद्धताको परीक्षण गरी जिल्लाका सरोकारवाला निकाय एवं पालिकाले अनुगमन गरेका थिए । गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।