सुदूरपश्चिमका तीन जिल्लामा आज सार्वजनिक बिदा

धनगढी, १८ पुस/सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा सार्वजनिक बिदा दिइएको हो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेश सरकारले पुस १८ गते आइतबार भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा बिदा दिइएको हो ।
प्रदेशका यी जिल्लामा दमाहा बाजाको तालमा सेतो जामा पगरीसहित एक हातमा ढाल र अर्को हातमा तरबार समातेर भुवा नाच्ने गरिन्छ ।
भुवा पर्व हरेक वर्ष पुस औँसीबाट शुरू हुन्छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि निकालिएको जुलुसमा तरबार र ढाल नचाउँदै खुसीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा नाच्ने चलन रहेको बताइन्छ ।
बाजुरेली सेवा समाजले आज र भोली भुवा पर्वको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । धनगढीको खुलामञ्चमा आयोजना हुने कार्यक्रमको आज सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साढे १० बजेतिर प्रदेश प्रमुख जोशीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।