काठमाडौं ,२६बैशाख।नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच एजेन्डामा समान धारणा बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय कांग्रेसले गत चैत २० मै केन्द्रीय समित बैठकबाट गरे पनि सभापति देउवाले जसपा ओलीकै पक्षमा देखिएकाले वैकल्पिक सरकार गठन हुन नसक्ने बताउँदै आएका थिए । प्रधानमन्त्री ओलीले अघिल्लो अध्यादेशको मिति सकिएलगत्तै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर नियुक्ति गर्न लागेपछि आक्रोशित भएका देउवा कुनै पनि हालतमा ओलीको विकल्पका खोज्ने भन्दै कस्सिएका थिए ।
जसपाकै कारण वैकल्पिक सत्ता सम्भव छैन भन्ने निष्कर्षमा पुगेका देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच जसपना नेता राजेन्द्र महतोसहित आज देउवा निवासमा भेटवार्ता भएको छ ।
यसअघि, ओलीकै निरन्तरताका पक्षमा देखिएका ठाकुर र देउबीच आज भने मत मिलेको छ । जसपा अध्यक्ष ठाकुरले ओलीको विश्वासको मतमा तटस्थ बस्ने जानकारी गराउँदै विश्वासको मत असफल भएपछि चुनावका लागि संयुक्त सरकार बनाउने प्रस्ताव गरेका थिए ।
“हामी विश्वासको पक्षमा मतदान गर्दैनौँ । यही कुरा अध्यक्षज्यूले प्रतिपक्षी दलका नेतालाई जानकारी गराउनुभएको छ,” ठाकुरनिकटका जसपा नेता डा सुरेन्द्र झाले भने, “यसपछि जाने भनेको चुनावमा नै हो । त्यसका लागि कसरी अघि जाने भन्ने विषयमा स्वाभाविक रुपमा कुरा हुने भयो ।” झाले प्रधानमन्त्री ओली मधेसका मुद्दामा सकारात्मक भएकाले उनका विरुद्धमा जाने निर्णय जसपाले नगरेको बताए ।
कांग्रेस सभापति देउवाले पनि अब बन्ने सरकार चुनावी सरकार नै हुने भन्दै त्यो सरकारलाई संयुक्त सरकार बनाउँदा अझ राम्रो हुने बताएका थिए । उनले आफू चुनावी सरकार र संयुक्त सरकारकै पक्षमा रहेको भन्दै ओलीको विकल्प पहिलो सर्त भएको उनको भनाइ थियो ।
जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पटक–पटक वैकल्पिक सरकार बनाउन प्रस्ताव गर्दा देउवाले पार्टीमा निर्णय गरेर आउन आग्रह गर्दै आएका थिए । तर, ओलीकै पक्षमा देखिएका अध्यक्ष ठाकुर र नेता महतो नै आएर विश्वासको मत नदिने बताएपछि देउवा उत्साही भएका छन् ।
अझै अन्योल बाँकी
देरउवा र महन्थबीच ओलीलाई विश्वासको मत नदिने र संयुक्त चुनावी सरकार बनाउने विषयमा मत मिले पनि एउटा विषयको अन्योल भने अन्त्य भएको छैन ।
कांग्रेस सभापति देउवा ओलीको विकल्पमा जाँदा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा आफ्नै नेतृत्वमा चुनावी सरकार बनाउने पक्षमा छन् । गत चैत २० गतेको कांग्रेस केन्द्रीय समितिको निर्णय पनि वैकल्पिक सरकारका लागि आफूले अग्रसरता लिने थियो । तर, त्यही निर्णयप्रति जसपाले असहमति जनाएको थियो ।
संयुक्त सरकार बनाउनुछ भने आफ्नै नेतृत्व भनेपछि सहमति हुन्छ कि असहमति ? भन्दै प्रश्न उठाएको जसपाको ठाकुर पक्षले ओलीबाटै माग–मुद्दा सम्बोधन गराउने रणनीति अख्तियार गरेको थियो । अहिले पनि ठाकुरले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रयास असफल भएपछि संयुक्त चुनावी सरकार भनेका छन् ।
नेतृत्व कसको भन्ने विषयमा छलफल नहुँदा भोलि वैकल्पिक सरकारको प्रयास हुँदा पनि थप जटिलता आउने ठाउँ भने अझै टरेको छैन ।