काठमाडौं,१३चैत। नेकपा (एमाले) संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र भएका निर्णय फिर्ता लिन माग गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने यसअघिका बैठकले गरेका कुनै पनि निर्णय फिर्ता लिन नसकिने जवाफ दिएका छन् ।
बैठकमा बोल्दै नेपाल समूहका सांसद् एवम् वरिष्ठ नेता झलनाथ खनाल, सांसदहरु घनश्याम भुसाल, योगेश, गोकर्ण विष्टले प्रधानमन्त्रीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने भन्दै ओलीले कुनै पनि निर्णयबाट पछाडि नहट्ने बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
बैठकमा बरिष्ठ नेता खनालको नेतृत्वमा नेपाल–खनाल समूहका सांसदहरु बैठकमा सहभागी भएका थिए । माधवकुमार नेपाल भने बैठकमा गएनन् ।
‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्वत् भएका छन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन ।’
बैठकबाट बाहिरिएपछि पत्रकारहरूसँग बोल्दै नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको बताएको जानकारी दिए । ’हामीले जनमतअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ त्यसका लागि अध्यक्षका नाताले तपाईंले पहल गर्नुस् भन्यौं’, नेता भट्टराईले भने, ‘उहाँले अस्तिको बैठकमा भाग नलिएका साथीहरु पनि आउनुभएको छ, पार्टीमा नयाँ परिस्थिति निर्माण भएको छ, म सधैं खुला छु भन्नुभयो । आफूहरुले उत्तेजित नभई संयम र धैर्यताका साथ अघि बढ्न आग्रह गरेको पनि उनले जानकारी दिए ।
२३ फागुनमा सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएपछि पहिलो पटक ओलीले बोलाएको बैठकमा नेपाल–खनाल समूह सहभागी भएको हो । यसअघि यो समूहले आफूनिकट केन्द्रीय सदस्यहरुसँग बैठक गरेर ओलीले बोलाएको बैठकमा सहभागी हुने निर्णय गरेको थियो । यसअघि पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा बैठक नराखि बालुवाटारमा बैठक राखेको भन्दै संसदीय दलको बैठक यो समूहले बहिस्कार गरेको थियो ।