धनगढी,१३चैत।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन्। शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कने बताएका हुन्।
‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन्,’ मन्त्री भट्टले भने, ‘हामी यहाँको नेतृत्व आएका छौँ। अब छलफल गर्छौँ। यो सरकारले गति लिन सकेको छैन। अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ।’
अहिले लेखराज भट्टकै लविङमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकार सुदूरपश्चिममा छ। मन्त्री भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन्। अहिले प्रधानमन्त्री केपी ओली नजिक भएपछि उनलाई नेकपा ९एमाले० को प्रदेश इन्चार्ज बनाइएको छ। मुख्यमन्त्री भट्ट भने प्रचण्डनिकट छन्।
मन्त्री भट्टले एमालेका नेता माधवकुमार नेपाललगायतका नेताका विषयमा स्पष्टीकरणपछि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए। उनले उक्त पक्षका नेताहरुका लागि एमालेको ढोका खुल्ला रहेको बताए।
‘माओवादी केन्द्रले सरकारमा आफ्नो समर्थन फिर्ता लिएको छैन्,’ उनले भने, ‘त्यसैले अहिले नै संघीय सरकारमा ठूलै फेरवदल हुने देखिएको छैन। तर अहिलेको अवस्था हेर्दा विगतमा लिइएको संसद विघटनको निर्णय नै ठीक थियो जस्तो लागिरहेको छ। भोलि पनि नयाँ जनादेशकै लागि हामी जान सक्छौ।’
मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको बताउँदै तत्काल लकडाउन भने नहुनेसमेत बताए। ‘फेरि लकडाउन हुँदैन। थप सतर्कता अपनाउने तयारी छ।’