फूलबारी महोत्सव सुरु, स्थानीय कला संस्कृति मुख्य आकर्षण

धनगढी, २९ पुस धनगढी उपमहानगरपालिका १४ फुलबारीमा दोस्रो फुलबारी महोत्सव शनिबारदेखि सुरु भएको छ । आयोजक न्यू बुद्ध स्पोर्ट युवा क्लबको आयोजनामा भएको महोत्सवको उपमहानगरपालिकाका प्रमुख नृर्पबहादुर वडले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै प्रमुख वडले मेला महोत्सवले यस क्षेत्रको विकासका लागि टेवा पुर्याइरहेको बताउनुभयो । उहाँले प्रदेश नम्बर सातको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । स्थानीय कला संस्कृति, पर्यटन ब्यापार र कृषि प्रबद्र्धनका निम्ती फुलबारी महोत्सव भन्ने नाराका साथ शनिबारदेखि सुरु भएको होत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादन, समुदायको खानपान र जीवन शैली महोत्सवको मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा कृषि उपज, व्यापार, खाद्य परिकारलगायतका ५० स्टल रहेका छन् । महोत्सव अवधिमा रु ४० लाख बराबरको कारोबार हुने र ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने विश्वास गरिएको छ । महोत्सवको पहिलो दिन कलाकार चक्र बम र उमा खडकाको प्रस्तुती रहेको थियो । महोत्सवमा लोक संस्कृतिमा आधारित स्थानीय झाँकी, सखिया नाच, तामाङ सेलो र देउडा प्रदर्शन हुने क्लबका अध्यक्ष महेश गोलेले बताउनुभयो ।