शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति : प्रधानमन्त्री देउवा

कञ्चनपुर, २९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताउनुभयो । उहाले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने धारणा राख्नुभयो । सोही अवसरमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अंगका रुपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताउनुभयो । उहाँले आधुनिक युगमा शिक्षाको महत्वलाई दर्शाउन अन्य संघ÷संस्था, अनुसन्धानमूलक निकायसँगको सहकार्य पनि जरुरी रहेको औँल्याउनुभयो । विसं २०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल तीन हजार नौं सय विद्यार्थी अध्ययनरत छन् ।