सडकको चौडाई घटाउनेविरुद्ध दृष्टिविहीनद्वारा प्रदर्शन, दिए यस्तो चेतावनी

धनगढी, २८ पुस । निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकको चौडाई घटाउन भइरहेको सामूहिक चलखेल विरुद्ध शुक्रबार धनगढीमा दृष्टिविहीन युवाको अगुवाईमा प्रर्दशन गरिएको छ । दृष्टिविहीन युवा अर्जुन रावलको नेतृत्वमा गठित विकास, सुशासन र समृद्धिका लागि युवा दबाब समूहले ६ लेन सडकको चौडाई घटाउन भइरहेको प्रयास विरुद्ध नाराबाजी सहित प्रर्दशन गरेको हो । दबाब कार्यक्रममा सहभागी युवाहरु सडकको चौडाई घटाउन तथा क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेका १३ जना विरुद्ध मात्र नभई उनीहरुलाई प्रयोग गर्नेहरुलाई पनि होसियार रहन चेतावनी समेत दिएका छन् । सात नम्बर प्रदेशको विकास र समृद्धिसंग जोडिएको मोहनापुल–अत्तरीया ६ लेन सडक निर्माणमा अवरोध सृजना गर्नेहरुलाई विकास विरोधी भएको उनीहरुको आरोप छ । सडक आसपासका संरचना हटाउन नदिई सर्वोच्च अदालतमा रिट हालेर अवरोध सृजना गर्नेहरु विरुद्ध कसैले आवाज नउठाएका बेला दृष्टिविहीन रावलको नेतृत्वको टोली सडकमा उत्रिएको हो । प्रर्दशनपछि धनगढी चौराहामा आयोजित कोण सभालाई सम्बोधन गर्दै दबाब समूहका नेतृत्वकता एव्म दृष्टिविहीन रावलले १३ घरधनीले सडकको चौडाई घटाउन सर्वोच्च अदालतमा मुद्दा हालेपनि उनीहरुलाई प्रयोग गर्नेहरु पनि धेरै रहेको भएकाले तीनका विरुद्ध आफूहरुको खबरदारी भएको बताउनुभयो । सडकको चौडाई घटाउने चलखेल बन्द गर्न दृष्ट्रिविहीन रावलको नेतृत्वमा फरक क्षमता भएका व्यक्तिलगायतको सहभागिता रहेको थियो । धनगढीको विकासमा अवरोध सृजना गर्ने विरुद्धको संघर्ष रहेकाले यसमा सबैको सर्मथन र सहयोगको आवश्यता रहेको अर्का दृष्ट्रिविहीन नैनसुक रानाले बताउनुभयो । साढे ८२ फिटको ६ लेन सडकलाई ७५ फिटमा झार्न खोजिएको आवाज सुनिएकाले तीनलाई बन्द गर्न एवम विकास विरोधीलाई सुझाव दिन दबाब कार्यक्रम आयोजना गरिएको प्रदर्शनमा सहभागी विमल नेपालीले बताउनुभयो । निर्माणधिन मोहनापुल अत्तरिया ६ लेन सडक आसपासका संरचना भत्काउन अटेरी गरिरहेका १३ जना घरधनीले सडकको चौडाई ७५ फिट कायम गरिनुपर्ने, निर्माणका क्रममा भत्काईने संरचनाको क्षतिपूर्तिको माग गर्दै पौष २० गते सर्वोच्च अदालतमा रीट दायर गरेका थिए । मोहनापुल अत्तरिया सडक आयोजना सहितका नौ कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन माथि छलफल गर्न सर्वोच्चले २६ गते बोलाएको भएपनि विशेष कारणवश त्यसलाई सारेर माघ २ गते बोलाइएको छ । १३ जना घरधनीले चालेको त्यो कदमप्रति यसक्षेत्रका स्थानीय जनप्रतिनिधिलगायत कसैले पनि अहिलेसम्म मुख खोलेका छैैनन् । यो स्थितिमा दृष्टिविहीन युवाहरुले सडक निर्माणको काम रोक्ने विरुद्ध खबरदारी गर्न युवा दबाब समुह गठन गर्दै सडकमा उत्रेपछि त्यसको स्वागत गरिएको छ ।