उद्योग व्यवसायमा महिलाको आकर्षण, कति छन् आबद्ध ?

सविता बुढा धनगढी, २८ पुस । कैलालीमा घरेलु तथा साना उद्योग व्यवसायमा महिलाको आबद्धता बढ्दै गएको छ । चेतना विस्तारसंगै पुरुषप्रतिको निर्भरता घट्दै जानुका साथै आत्मनिर्भर बन्ने भावना बढ्न थालेपछि उद्योग व्यवसायमा महिलाहरुको आकर्षण बढ्न थालेको हो । पछिल्लो समय घरेलु तथा साना उद्योग सम्बन्धि सीप सिक्ने तालीममा महिलाहरुको सहभागिता बढी नै देखिन्छ । गत आर्थिक वर्षसम्मको विवरणअनुसार कैलालीमा महिलाका नाममा मात्रै ९ सय ७८ उद्योगहरु दर्ता भएर सञ्चालनमा रहेको धनगढीस्थित घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकले देखाएको छ । सधै“ चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरु उद्यमी बन्ने क्रम बढ्दै गएको धनगढी उपमहानगरपालिका सामुदायिक उद्योग विकास शाखाका प्रमुख दिलीप चन्दको भनाई छ । उनले महिलाहरु उद्यम गरेर आत्मनिर्रभर भई सम्मानपूर्वक जीवन व्यतित गरिरहेको बताए । उद्योग विकास शाखाको तथ्यांकअनुसार आर्थिक बर्ष २०७३÷७४ सम्ममा जिल्लामा पुरुषको नाममा ५ हजार १ सय ३० उद्योग दर्ता हु“दा महिलाको नाममा ९ सय ७८ उद्योग दर्ता भएका छन् । संख्यात्मक रुपमा पुरुषको तुलनामा महिलाको संख्या कम भएपनि विगतको तुलनामा पछिल्लो समय महिलाहरुको संख्या उद्योग तर्फ बढ्दै गएको देखिएको उद्योग विकास शाखा प्रमुख चन्दले बताए । उद्योग व्यवसायमा लागेर अरुको आशा पर्ने अवस्था नहुने धनगढी रातोपुलमा विगत १५ वर्षदेखि कपडा तथा सिलाईकटाई व्यवसाय सञ्चालन गर्दै आएकी टिका चौधरीले बताइन् । उनले आफूले थालेको व्यवसायबाट आफू आत्मनिर्भर बन्नुका साथै अरुलाई पनि रोजगार दिन पाएकोमा खुशी व्यक्त गरिन् । कैयौं महिलाहरु आफ्नै नाममा उद्योग सञ्चालन गरेर आत्मनिर्भर भएका छन् भने केही उद्योग स्थापनाको तयारीमा पनि छन् । पछिल्लो समय महिलाहरुले सञ्चालन गरेका उद्योग व्यवसाय फस्टाउ“दै गएपछि अन्य महिलाहरुको पनि व्यवसायमा आकर्षण बढेको देखिन्छ । यसैमध्येकी धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का गौरीमाया बास्तोलाले पनि माछा पालन व्यवसाय गर्ने तयारी गरेकी छन् । उनले आफ्नै घरमा खेर गइरहेको जमिनमा माछा पालन गर्ने तयारी गरेको बताइन् । उनी अहिले माछापालन सम्बन्धि आवश्यक जानकारी र सीपका बारेमा बुझ्न धनगढीस्थित उद्योग विकास शाखा र विभिन्न प्राविधिकहरुलाई भेटिरहनुभएको छ । बिगतमा महिलाहरु पुरुषको तुलनामा कुनै पनि क्षेत्रमा अगाडि आउन सकेका थिएनन् । तर, हाल महिलाहरु पनि पुरुषसरह जुनसुकै क्षेत्रमा पनि अग्रसर हुन थालेको पछिल्लो तथ्यांकले देखाएको छ । यसलाई महिला सशक्तिकरणको सकारात्मक संकेत मान्न सकिन्छ ।