धनगढ़ी,०३ भदौ। म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा सेती अन्चल अस्पतालका सबै नर्सहरुलाई लड्डु खुवाउनु भएको रे ! ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम झलक राखिदिनु भएको थियो रे! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामीहरुलाई झारफुक गर्न लगाउने तथा फूलबारीको किरण डाक्टर तथा पलियाको सक्सेना डाक्टरकोमा उपचार गराउन लाने गर्दै सानोमा मलाई हुर्काउनु भएको थियो ।
आफू सामान्य लेखपढ भए पनि छोरोले राम्रोसँग पढोस् भन्ने उहाँमा चाहना थियो । त्यसैले दिदीहरुलाई पनि राम्रो पढ्ने व्यवस्था गरेर मलाइ सिकाइने बातावरण मिलाउनु भएको थियो । बासी भात खायो भने पढ्न आउँदैन भनेर बासी खान कहिल्यै दिनु भएन । छोरा पढी मात्र राखोस्, खराब केटाहरुको संगतले नबिग्रियोस् भन्ने बुवाको इच्छा थियो । यति निगरानी हुँदाहँदै पनि बुवालाई छलेर आमाको स्वीकृतिमा गोठाला जाँदा एकपल्ट भागेर कुसुम टिप्न जादा लडेर खुट्टा मर्केको , कहिले बर्षे धान खेतमा ढोक्सा थाप्न, हिलोमा माछा मार्न, भारताल र साना नदीमा पौडी खेल्न, काउडी भैंसीको डँडेल्नोमा बसेर चराउन गएको सम्झना ताजै छ । गीता दिदीको घरग्वालीमा तास खेल्दै गर्दा बुवाले आएर बाँसको सिर्किनाले हानेको र भाग्दै घर पुगेर ढोका थुनेर चुकुल लगाई बसेको अविस्मरणीय सम्झनाहरु अहिले झल्झली आइरहेको छ । गोमा दिदी लाइ “कालु” भनेर जिस्काउदा खाएको लतक । मिरु दिदी सँग झगडा गर्दै सिकेको साइकल, बेलुका घर पुग्दा लाग्ने डर । आफ्नो घरमा हेर्ने टि भि नहुदा छिमेकीकोबाट हेरेर फर्किदा रिना दिदी ले बचाइदिएको कुरा कहाँ पोखु । आज लाग्छ ,ती सबै अनुशासनको पाठ सिकाउन बुवाले गर्नुभएको प्रयत्न रहेछ ।
बुवाले माया गरेर बेहेडाबाबा बजार घुमाउन लगेको, दशैंमा टीका लगाउँदै आशिर्वाद दिएको, जँगे घोष मिठाई बालालाई रसदाना र मास्टरको पसलबाट झिलिया प्याजी किनिदिएको, एस.एल.सी.मा फस्ट डिभिजनमा पास हुँदा सी।को।घडी किनिदिएको, यी सबै बुवाको माया र कर्तव्य भित्र पर्थे होलान् ।
बुवाले मलाई सामाजिक कार्यमा लाग्ने कुरामा कहिल्यै रोक्नु भएन । म १३ बर्षको उमेरदेखि नै गाउँको क्लबमा लागेर सामाजिक कार्य गर्न थालिसकेको थिएँ । सांस्कृतिक कार्यक्रम गर्ने, पुस्तकालय सञ्चालन तथा विवाह, मर्दा–पर्दा स्वयंसेवी रुपमा सघाउन जाने लगायतका कार्य गर्दै आएको थिएँ । बुवा पनि गाउँमा मर्दा–पर्दा, बिरामी कोही हुँदा, सरसापट सहयोग गर्नुहुन्छ । पैसा कमाउन कहिल्यै पनि आशक्ति देखाउनु भएन । मेरो बुवा ठूलो ब्यक्तिभन्दा पनि समुदाय र घर परिवारको लागि असल व्यक्ति हुनुहुन्छ । आज उहाँको प्रेरणा र सत्मार्ग प्रदर्शनले गर्दा सोही बाटोमा लाग्ने प्रयासमा छु ।
बुवासँग कुरा
बुवा जब तपाईँ मलाई सोध्नुहुन्छ नि “झलक तैले के खाइस त हिँड्न लागिछस ?” मलाई ढिलो भैसक्छ क्या, कहीँ नभएको ढिलो, कलेज जान ढिलो, हाजिर हुन ढिलो । कहिलेकाहीँ बिदामै पनि परिणाम नआउने अन्य कामका लागि व्यर्थैको ढिलो । तब मलाई तपाईँलाई जबाफ दिइरहने फुर्सद नै कहाँ हुन्छ र ? बिदा हुँदा झन् बेजोडको काम हुन्छ बुबा, स्वतन्त्र काम । त्यसैले त म केही खान्न, अथवा खाना बोकेको छु अथवा उतैतिर खान्छु बुबा भनिरहँदा म घरबाहिर पिँढीमा जुत्ता लगाउँदै हुन्छु । तपाईँ आमालाई ‘यसो खानेकुराको मेलोमेसो गरिदिएको भने हुने नि, झलकले केही नखाई गयो, कामै नभए नि फुर्सद नभाुकी बूढी ।’ भन्दै आमालाई गुनासो गरिरहनुहुँदा तपाईँको धिमा आवाज प्रष्टै बुझ्छु म तर घरको मूल ढोका बाहिरै पुगिसकेको हुन्छु । कहिलेकाहीँ तपाईँ म हिँड्न लागेको आफैँ चाल पाउनुहुन्छ र पच्छ्याउँदै आउनुहुन्छ, कम्ता हृदय निथोर्छ र बुबा ! जब तपाईँले थोरै पैसाको अपेक्षा गर्नुहुन्छ कारणसहित । जस्तो बारीका तरकारीका लागि मल खरिद, बीउबिजन खरिद, तपाईँको त्यो बूढो साइकल मर्मत वा बिजुलीपानीको बील तिर्न आदि यस्तै खत्र्याकखुत्रुक खर्चका लागि । होर्ल्याँग पाइन्ट लगाएको मेरो त्यो स्कूले समय, जतिबेला म तपाईँसँग मेरो आवश्यकताका लागि गोडा बजार्दै पैसा माग्थेँ । आज कस्तो काँचुली फेरिँएछ समयको, मैले बुबाको हातमा सकेको खर्च दिनपाउने र दिनसक्ने दुवै परिस्थिति जुटाइदिएको छ । धन्य छ, मेरो आकाश १ म यो पल एक एक गर्दै तपाईँका हरेक आवश्यकता र सेवामा दुरूस्त रहन सकूँ । विसं २०७० सालमै सेकेन्ड ह्यान्ड किनेको तपाईँको त्यो बूढो साइकल आजसम्म पनि बारीका लागि मलखाद खरिद बिजुली पानीको बील र अन्य आवश्यकतामा गुडिरहन्छ । साइकलको पाइडलसँगै समयले आज तपाईँलाई ४९ बसन्त पार गराउँदै गर्दा सँगसँगै मैले पनि आफ्नो समयको पाइडल घुमाइनैरहेको छु बुबा । झिनामसिना कुरा पनि लेख्छस त भन्नुहुन्छ मलाई, तर यिनै झिना र पिलन्धरे कुराले नै त सम्बन्धलाई दरिलो र खुकुलो दुवै बनाउँछ । म तपाईँकै सामु त्यो दुर्बल परिवारको छोरा भनेर कसरी तपाईँ र आफ्नै अपमान बढाउन सक्छु बुबा ? त्यसमाथि मेरो हृदय जोडिएको दुनियाँमा त्यही एउटै सारथि तपाईँ त हो बुबा । तपाईँले आमालाई गाउँको अभाव जिन्दगीबाट र हामी छोरा - छोरीहरूलाई पूर्ण शिक्षाबाट वञ्चित नगराउन आजभन्दा ३०-३५ वर्ष पहिले नै आफ्नो सर्वश्व त्याग गर्नुभयो । सम्पत्तिका नाममा जन्मस्थानको माटोको मायामात्र बोक्नुभयो । उचित उमेरभित्रै हामी सबै छोरा छोरीको शिक्षादिक्षा पूरा गरिदिनुभयो । धनगढ़ी देखि काठमाडौँको कुनै गल्ली बाँकी रहेनन् डेरा सर्दा सर्दा । आमाको बिहेको तिल्हरी र हजुरआमाको चाँदीको बालासमेत बेचेर मट्टितेल र आलु, दाल किनेर नाइलनको झोलाभर ल्याउनुभएको हिजो जस्तै लागिरहन्छ ।
जब हामी सपरिवार खान बस्छौं तपाईँ अधिकांश यो वाक्य भनिहाल्नुहुन्छ – हो, यस्तरी सबै जना बसेर खाएको मलाई कम्ती आनन्द आउँदैन । घरको मीठोमसिनो खाना सबैको पेटमा पुग्छ । आँत कति रसिलो देखिन्छ बुबा तपाईँले यसो भनिरहनुहुँदा । यो तपाईँको आनन्दीपन सँधै सँधै दिने कोसिस गर्छु बुबा । आजकल त घर भनेको चाउचाउ, चिया र मोबाइल बन्ने गर्छ रे राजु भिनाजु भन्नु हुन्थ्यो । म पनि बुबा र आमा नहुँदा झन्डै त्यस्तै भैसकेको थिएँ एक्लै कोठामा बस्दा बस्दै । घरको चुल्हो बल्न कैयौं दिन लाग्थ्यो । घरभित्रै पनि एक्लाएक्लै, परिवारभित्रै पनि एक्लाएक्लै । उसका सम्पूर्ण साथी मोबाइल र चाउचाउ अनि चाउचाउजस्तै फास्टफुड । हुन पनि संसार त्यहीँ नै आउँछ त बुबा । हातभरिको मोबाइल अलिकति शरीरलाई कष्ट भनेको गर्धन घोप्टो पर्नुपर्छ, औंलो सक्रिय हुनुपर्छ बस् । समयको पाइडल तपाईँको साइकलभन्दा पनि बेजोडले कुद्छ । बिहान घरमा छोडेर हिँडेपछि तपाईँले के खानुभयो, कसरी दिन बिताउनुभयो ? औषधि समयमा लिनुभयो कि भएन ? दिदीले तपाईँलाई भनेर छुट्टै बनाएको नपिरो अचार र तरकारीको सट्टा अर्को तरकारी खान झुक्किनु पो भयो कि ? ढिँडो र साग आफैँ पकाउँछु भन्नुभएथ्यो खानुभयो त होला नि भन्दै मनमा तर्कना आउँछ बुबा । साँझ जब खाना खाइसकेपछि तपाईँसँग गफिने अवसर लिन मनलाग्छ केही छिन तपाईँ र आमासित टीभी हेर्ने अवसर छुटाउन मनलाग्दैन । त्यतिखेर तपाईँ झुल्नुभएको हेरिरहन्छु र मेरो त्यो अबोध बालापन नुनु आएर तपाईँको कोखिलामा झुलिरहेको कल्पना गर्छु । तपाईँले रूचाउनुभएको टीभी कार्यक्रम छुट्छ भनेर बिस्तारै बोलाउँदै उठाउँछु । तर फेरि तपाईँ झुलिसक्नुभएको हुन्छ, खानका लागि ठिक्क पारेको सातथरिका औषधिका ट्याब्लेटहरू हत्केलाबाट काखभरि पोखिइसकेको हुन्छ । हाँस्दै ती ट्याब्लेट टिप्न पनि आनन्दै लाग्छ । किनभने एकपटक फेरि म लगाइसकेको स्कुलको ट्युनिकभरि खाना खाँदा पोखेको दाल, तरकारी सम्झेर रुमानी यादले आल्हादित बनिसक्छु ।
त्यो र यो समय आज कस्तो कायापलट ? हे विशाल गगन ! यो साथ र सामर्थ्य दिइरहू है सँधै ।
बुबा ! आज बुबाको मुख हेर्ने दिन हो । नेपाली समाजमा सबै धर्म, जाति र वर्गका परिवारले बुबाको मुख हेर्ने दिनलाई समानरूपमा महत्वका साथ मनाउने गर्छन् । असाध्यै असाध्यै मनपर्छ मलाई बुबा र आमाको मुख हेर्ने दिन । तर सबैले मान्ने यो पवित्र दिनमा किन सार्वजनिक बिदा नगरेको होला सरकारले ? जब कुनै जाति र धर्म विशेषका चाडपर्वमा सार्वजनिक छुट्टी दिने गरिएको छ भने सबै जाति, धर्म, वर्गका छोराछोरीले बुबा र आमाको मुख हेर्ने एउटा साझा र महत्वपूर्ण पर्वमा किन छुट्टी नदिइएको होला ? मेरो मनमा यो प्रश्न कक्षा ७ मा पढेदेखिकै हो र आज पनि उस्तै छ, अहिलेको अवस्था अलिक फरक छ कोरोनाले गर्दा । बुबाप्रति सम्मान, आदरभाव र घरका ज्येष्ठ अभिभावकसँगको सम्बन्ध न्यानो, ओझपूर्ण र सद्भावपूर्ण बनाइराख्न सकियोस् भन्ने प्रमुख सन्देश र सचेतता पनि हो यो पर्वको महत्त्व । हामी सबै छोरा -छोरीहरू र बुबाआमाबीच पवित्र र अविचलित गठबन्धनलाई थप न्यानो र गहिराइपूर्ण बनाउन सकौँ । बुबा! यस अवसरमा समयसँग यही कामना गर्छु । तपाईँको सुस्वास्थ्य, दीर्घ जीवन, स्नेही र स्निग्ध अनुहार सँधै हाम्रो लागि शक्ति बनिरहोस् । शुभकामना !!!