धनगढी— कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई प्रहरीले आइतबार राति जुवाको खालबाट पक्राउ गरेको छ । २२ लाखसहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष शाही नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका–१० मा विजयी जनप्रतिनिधि हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । जुवाको खालबाट २२ लाख ८२ हजार नगद पनि बरामद गरिएको डिएसपी बस्नेतले बताए ।
पक्राउ परेका अन्य व्यक्तिहरुको विस्तृत विवरण यकिन हुन नसकेको बस्नेतले बताए । ‘नाम ठेगाना झुटो बताउन खोजिरहेकाले यकिन गर्दैछौं,’ डिएसपी बस्नेतले भने, ‘उनीहरु पेशेवर खेलाडी हुन्, ठाउँ फेरिफेरि सेन्ट्री राखेर खेल्ने गर्छन् भन्ने जानकारी आएको छ ।’ बरामद भएको रकम जफत हुने र जुवा कसुर अनुसार उनीहरुमाथि कार्वाही हुने उनले बताए ।