‘बलात्कारी रामरहिमकी कथित छोरी हनीप्रित नेपालमा’

काठमाडौं, ३ असोज अदलातले बलात्कारी ठहर गरी २० वर्ष जेल सजाय सुनाएपछि बाबा गुरमित रामरहिम सिंह त जेलको चिसो हावा खाइरहेका छन्। तर उनको गिरफ्तारीपछि सारा चर्चा उनकी कथित छोरी हनीप्रिततिर केन्द्रित भएको छ। भारतीय सञ्चारमाध्यमहरुले अहिले हनीप्रित नेपालमा लुकेर बसिरहेको समाचार प्रकाशन/प्रशारण गरिरहेका छन्। गत २५ अगस्टमा राम राहिमलाई प्रहरीले पक्राउ गरेपछि पंचकुलामा भड्किएको हिंसामा दर्जनौं मानिसको मृत्यु भएको थियो। सोही हिंसा भड्काउनमा दोषी ठानिएकी हनीप्रितलाई भारतीय प्रहरीले व्यापकरुपमा खोजी जारी राखेको छ। ‘हनीप्रित के नेपाल आएको सुँइको मिलेको छ त?’ हामीले प्रहरी मूख्यालयका एक उच्च प्रहरी अधिकृतलाई प्रश्न सोधेका थियौँ। उनले भने, ‘नेपाल प्रहरीले हनीप्रीत नेपाल छिरेको सूचना पाएर सोधखोज सुरु गरेपछि भारतीय मिडियाहरु काठमाडौंसम्म आइपुगेका हुन्।’ भारतीय गुप्तरले हनीप्रीत पश्चिम नेपालको कञ्चनपुर हुँदै नेपाल भित्रिएको र पूर्वी नेपालतिर लागेको सूचना उपलव्ध गराएपछि नेपाल प्रहरी उनी लुकेको हुन सक्ने सम्भावित स्थानहरुमा सक्रिय भएको बताइएको छ। मोरङका प्रहरी प्रमुख उपरीक्षक अरुण बीसीले हनीप्रीत यहाँ छन् भने उम्किन नदिने गरी सुराकीहरुसँगै सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिएका छन्। त्यसैगरी प्रहरी मूख्यालयले धरान, विराटनगर, विरगञ्ज र पोखराजस्ता सहरहरुमा पनि प्रहरीलाई हनीप्रीतको हुनिया सर्कुलर गरेको छ। आखिर को हुन् त हनीप्रित? हनीप्रित राम रहिमको एकदमै निकट व्यक्ति मानिन्छिन्। राम रहिम जेल जाँदासम्म हनीप्रित साथमै थिइन्। हनीप्रितको वास्तविक नाम प्रियंका तनेजा हो। उनी आफूलाई समाजसेवी, डाइरेक्टर, एडिटर र अभिनेतृ समेत बताउँछिन्। यी सबै कुरा उनले बिना तालिम सिकेको डेरा सच्चा सौदाको वेबसाइटमा उल्लेख छ। फेसबुकमा ५ लाखभन्दा बढी मानिसले उनलाई फलो गर्छन्। हरियाणाको हिसार नजिकै फतेहपुरकी बासिन्दा प्रियंका तनेजाले सन् १९९९ मा विश्वास गुप्ता नामक व्यक्तिसँग विवाह गरेकी थिइन्। विवाहपछि नै उनले नाम फेरेर हनीप्रित राखिन्। पतिपत्नी दुवै राम रहिमको डेराका भक्त थिए। उनको विवाह सुखमय नभएको गुनासो उनी बारम्बार रामरहिमसँग गर्थिन्। घरका मानिसले दाइजो नल्याएकोमा किचकिच गरिरहने बताइन्छ। त्यसपछि सन् २००९ मा रामरहिमले उनलाई धर्मपुत्री बनाए र विश्वासलाई पनि ज्वाइँका रुपमा अपनाए। त्यसपछि उनीहरुको पारिवारिक सम्बन्धमा खटपट झनै बढ्यो। विश्वास डेरा छोडेर हिँडे। उनले २०११ मा हरियाणा उच्च अदालतमा आफ्नो पत्नीलाई डेराबाट निकालिपाऊँ भनेर निवेदन पनि दिए। तर त्यसो भएन। बरु हनीप्रित डेरामा शक्तिशाली बन्दै गइन्। सन् २०१५ मा रामरहिमले खेलेको फिल्मको निर्देशन पनि उनै हनीप्रितले गरेकी थिइन्। एमएसजीः द वारियर शेर हार्ट, हिन्द का नापाकका जवाबजस्ता फिल्ममा निर्देशन, सम्पादन र अभिनय पनि गरेकी छन्। रामरहिम जेल गइसकेपछि उनको अर्बौँ सम्पत्तिको उत्तराधिकारीका रुपमा हनीप्रितलाई लिन थालिएको थियो। किनभने डेराको नियमअनुसार गुरुका वास्तविक सन्तानले उनको उत्तराधिकारी बन्न पाउँदैनन्। तर, सेप्टेम्बर ३ मा हनीप्रितविरुद्ध हरियाणाको पञ्चकुलामा हिंसा भड्काएको आरोपमा मुद्दा दायर भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ। राम रहिमलाई अदालतले दोषी ठहर गरेपछि पञ्चकुलामा ३५ र सिरसामा ६ जनाको ज्यान गएको थियो। हाल प्रहरीले उनीविरुद्ध औपचारिक एफआरआइ दर्ता गरिसकेको छ र हनीप्रितसहित हिंसासँग सम्बन्धित ४३ व्यक्तिको खोजी गरिरहेको छ। उनी अन्तिम पटक अगस्ट २५ को राती रोहतकको जेलबाहिर देखिएकी थिइन्। त्यसयता उनी गायब छिन्।