मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्न खुला सीमा नाका मुख्य चुनौतीका रुपमा रहेको (नेपाल-भारत)का अधिकारीले बताएका छन् ।
दुवै देशका सरकारी तथा गैर सरकारी अधिकारीले संयुक्त प्रयासमा मानव बेचबिखन रोकथाम तथा ओसारपसारमा प्रतिबद्धता जनाएका छन् ।
बुधबारदेखि महेन्द्रनगरमा माईती नेपालले आयोजना गरेको ‘मानव बेचबिखन र दुई देद्देशीय छलफल’ कार्यक्रममा सहभागि अधिकारीले खुला सीमा नाकाका कारण मानव बेचबिखन रोकथाममा चुनौती थपिएको बताएका हुन् । मानव तस्करले ओसारपसारका लागि आफ्नै मान्छे र विभिन्न खुला नाका प्रयोग गर्ने भएकाले रोकथाममा समस्या हुने गरेको बताएका छन् ।
सहभागिले पश्चिमी नाका पनि ‘मानव बेचबिखनको ट्रान्जिट प्वाईन्ट’ बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नेपालमा गरिबी, अशिक्षा, देखासिकी, बैदेशिक रोजगारीको लहर लगायत विभिन्न आर्थिक तथा समाजिक कारणबाट नेपाली महिला बेचबिखनको शिकार बन्दै गएको सरोकारवालाको भनाई थियो ।
बेचबिखन न्यूनिकरणका लागि समाजिक सचेतनाका साथै गरिबी उन्मुलन र स्वदेशमै रोजगारीका कार्यक्रम सिर्जना गर्नुपर्ने सुझाव दिएका छन् । बढ्दै गएको जनसंख्या, भुकम्प, वाढी, प्रकोपको प्रभाव लगायतका कारण अभावै अभावका कारण पनि नेपाली महिला बेचबिखनको उच्च जोखिममा रहेको सहभागिहरुको भनाई थियो ।
माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव बेचबिखन बढ्दै गएपछि त्यसलाई रोकथाम गर्नका लागि दुवै देशका सरकारी तथा गैर सरकारी अधिकारीसंग संयुक्त छलफल आयोजना गरिएको बताए ।
पश्चिमी नाकाबाट समेत मानव तस्करी भईरहेकाले रोकथनाम न्यूनिकरण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल आयोजना गरिएको उनले बताईन् । ‘मानव बेचबिखन जस्तो जघन्य अपराध बढ्दै छ, ‘उनले भनिन, ‘यो एक देश र पक्षको पहलबाट सम्भव छैन्, संयुक्त प्रयास गर्नुपर्छ ।’
संयुक्त आयोजना गरिने छलफलबाट मानव बेचबिखन रोकथामका लागि कार्यरत संघ संस्था सहित सरकारी अधिकारीलाई थप क्रियाशिल बनाउनका लागि छलफल आयोजना गरिने उनले बताईन् ।
माईती नेपालका निर्देशक अच्युत नेपालले मानव बेचबिखन विश्वकै जल्दोबल्दो समस्या भएको बताए । ‘नेपाल भारतसंग खुला सीमा नाका छ, ‘उनले भने, ‘बेचबिखनका स्वरुप परिर्वतन हुँदैछन् ।’ वैदेशिक रोजगारीको प्रलोभन देखाए होस वा विवाहको बहाना अनेकन प्रपञ्च रचेर भारत र्पुयाएर बेच्ने गरेको उनले बताए । यूरोप, नाईजेरिया लगायतका देशमा पठाउँछु भन्दै पश्चिमी नाका हुँदै भारत लग्ने र त्यही बेच्ने नयाँ टे्रड लागु भएको समेत उनले बताए ।
बार्षिक ३५ हजार बेचबिखनको जोखिममा परेको भन्दै उनले अझै १३ हजार मानिस हराएको बताए । माईती नेपालले सीमा क्षेत्रबाट १० हजार, प्रहरीले २ हजार र भारतबाटै ३ सयको उद्दार गरिएको बताए । भारतीय सरकारी अधिकारी टनकपुरका सिईओ विपिन चन्द्र पन्तले विभिन्न लोभ,प्रलोभन देखाएर नेपालबाट चेलिबेटी बेचखिनका लागि भारत ल्याउने गरेको बताए । यौनदेखि श्रमिकका रुपमा प्रयोग भईरहेको बताउदै उनले नेपालको गरिबीको फाईदा तस्करले उठाएको बताए । खुला सीमा नाकाका कारण पहिचानमै समस्या हुने उनको अनुभव छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यले मानव बेचबिखन दुवै देशको समस्या भएकाले यसलाई संयुक्त प्रयासबाट न्यूनिकरण गर्नुपर्नेमा जोडदिए । प्रजिअ बैद्यले खुला सीमा नाका भएकाले निगरानी आवश्यक रहेको औल्याउदै नेपाली सरकारी निकायका तर्फबाट भईरहेको बताए ।
सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मानव बेचबिखन रोकथामका लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको बताए । उनका अनुसार भारतसंग सीमा जोडिएका प्रदेशका कैलाली र कञ्चनपुरका तीन नाका (गड्डाचौकी, गौरीफन्टा र खर्गौलामा) हेल्प डेस्क स्थापना गरिएका छन् । ‘हेल्प डेस्क मार्फत हामीले सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई सोधपुछ गछौँ, ‘मन्त्री सुवेदीले भने, ‘भारतबाट आउनको हामीले स्वस्थ्य परिक्षण पनि गछौँ ।’ मन्त्री सुवेदीले अग्नीलाई साँची राखेर विवाह गरेपछि पुरुषबाटै महिला बेचिने घटनाले यो अत्यन्तै चुनौतीपुर्ण रहेको बताए । आफन्तबाट बेचबिखन हुने भएकाले मानव बेचबिखनमा चुनौती थपिदै गएको बताए । मन्त्री सुवेदीले खुला सीमा नाकाका कारण समेत बेचबिखन रोक्न नसकिएको बताए । समाज रुपान्तरण भएपनि बेचबिखन नरोकिएकोमा चिन्ता व्यक्त गरे । दुवै देशका अधिकारको संयुक्त छलफलपछि मानव बेचबिखन रोकथामका लागि कार्ययोजना बनाईने छ । मानव बेचबिखन न्यूनिकरण एव रोकथामको क्षेत्रमा कार्यरत दुवै देशका सरोकारवाला सहित शुरु भएको कार्यशाला गोष्ठी बिहीबार (आज)सम्म संचालन हुने आयोजकल जनाएको छ ।