काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको ६३ औं स्थापना दिवसका अवसरमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । अध्यक्ष बस्नेतले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महासचिव शाहीले सामाखुशीको एक पार्टी प्यालेसमा दलको स्थापना दिवसको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेका हुन् ।
सानेपाको चियापानका लागि अध्यक्ष बस्नेतले बाँडेको निमन्त्रणामा पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि र वरिष्ठ नेता रामचन्द्र पौडेललाई विशिष्ठ अतिथिका रुपमा आमन्त्रण गरिने उल्लेख थियो । तर चियापान समारोहमा वरिष्ठ नेता पौडेल अनुपस्थित थिए ।
यस्तै, शाहीले बाँडेको निमन्त्रणा पत्रमा वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि र महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. शेखर कोइराला, डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई विशिष्ठ अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।
महासचिव शाहीले आयोजना गरेको चियापान समारोहमा नेता पौडेल उपस्थित भएनन् । उनको अनुपस्थितिमा शाहीले निमन्त्रणा पत्रमा पाँचौं वरियतामा राखेका केन्द्रीय सदस्य डा. महतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेका छन् ।
शाहीले आयोजना गरेको चियापान समारोहमा आमन्त्रण गरिएका अधिकांश नेताहरु अनुपस्थित थिए ।