बैतडी, ८ कात्तिक – बैतडी डोजर आक्रमणकी घाइते गौरी जोशी पुनः बेहोस भएपछि थप उपचारका निम्ति भारत लगिएको छ । नेपालगञ्जमा सीटीस्क्यान गरेर घर फर्काउने क्रममा अचानक बेहोस भएपछि भारत लगेको गौरीका श्रीमान जगदीश जोशीले बताए ।
छिनछिनमा बेहोस हुने समस्या देखिएपछि भारत लगेको उनले बताए । होटलमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका जोशीले उपचार खर्च पनि नभएको दुखेसो पोखे । दशरथ चन्द नगरपालिका–९ ग्वाल्लेकमा मोटरबाटो बनाउने विषयमा दुई गाउँबीच कुरा मिलेको थिएन । देहीमाडौंबासीले जबरजस्ती गर्न खोजेपछि ग्वाल्लेकबासी विरोधमा उत्रिएका थिए ।
डोजर चालक केशव बोहोराले जबरजस्ती गर्दै बाटो खन्न थालेपछि प्रतिवादमा उत्रिएकी जोशी बकेटले हानेर सख्त घाइते भएकी थिइन् । जोशीको टाउको र ढाडमा गम्भीर चोट लागेको र अवस्था अहिले पनि चिन्ताजनक रहेको उनका श्रीमानले बताएका छन् ।
डोजर चालक केशव बोहोरालाई प्रहरीले भोलिपल्टै नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पनि भइरहेको छ । ज्यान मार्न उक्साएको आरोपमा डोजर मालिक भवानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध पनि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले बैतडीले जनाएको छ ।